आनी छोइङ डोल्माको नजरमा सुख, शान्ति र समृद्धि के हो? - Himal Post Himal Post
  • ७ माघ २०८२, मंगलवार
  •      Tue Jan 20 2026
Logo

आनी छोइङ डोल्माको नजरमा सुख, शान्ति र समृद्धि के हो?



धुलिखेल- सुख, शान्ति र समृद्धि के हो? आनी छोइङ डोल्मा भन्छिन्, ‘सुखानुभूति नै शान्ति हो।’ चैतन्य एकेडेमी नयाँ बानेश्वरले धुलिखेलको आगन्तुक रिसोर्टमा दुई दिने सुशासन र समृद्धि विषयक सेमिनार आयोजना गरेको छ। सेमिनारमा सुख, शान्ति र समृद्धि विषयक बक्ता हुन् आनी। उनलाई सहजिकरण गरेका थिए वरिष्ठ पत्रकार टिकाराम यात्रीले।

आनी शान्तिका लागि आत्मस्वभावभित्र लिन हुन सक्नुपर्ने बताउँछिन्। ‘आत्मस्वभावमा लिन हुनसके मात्रै शान्ति प्राप्त हुन्छ। सुखी अरुले दिने होइन, आफूभित्र खोज्नुपर्छ। मभित्रको मलाई चिन्न सके र आन्तरिक शान्ति लिन सकेमात्रै खुसी प्राप्त हुन्छ,’ उनले भनिन्।

उनले शान्ति कसैले दिने वस्तु नभएको बताएकी छन्। विभिन्न क्षेत्र अनुसार शान्तिको परिभाषा फरक हुने उनको धारणा छ। ‘आर्थिक शान्तिको परिभाषा फरक छ। सामाजिक शान्तिको परिभाषा पनि फरक छ। यस्तै व्यक्तिको परिभाषा पनि भिन्नै हुन्छ। यसका विभिन्न पाटा छन्,’ उनले भनिन्।

बाह्यमुखी विचारमा हराउँदा मान्छेले आफूलाई चिन्न नसक्ने आनीले बताइन्। यस्तै खुसीलाई परिभाषित गर्दै आनी भन्छिन्, ‘कुनै राम्रो कुरा देख्दा आनन्दको अनुभूति हुन्छ। कहिलेकाहिँ बारिमा राम्रो फूल फुलेको देख्दा पनि म खुसी हुन्छु। छोराले बुढो बुवाको हात समायर डोर्‍याएको देख्नु पनि मेरो खुसीको स्रोत हो। ती पलले मलाई सुखी दिन्छ र म आनन्दित हुन्छु। जीवनमा जे पाउँदा हामी सन्तुष्ट हुन्छौं, त्यही नै खुसी हो,’ उनले भनिन्।

म भन्नु के स्वार्थको विषय हो? भन्ने प्रश्नमा आनीले त्यो अहंकार नभएर मानवजीवको अंश भएको बताइन्। देशको आर्थिक उन्नतिका लागि सामूहिक कर्म आवश्यक हुने र त्यो एक-एक व्यक्तिबाटमात्रै सम्भव हुने धारणा राखेकी छन्। आजको राजनीतिक, आर्थिक र सामाजिक अवस्था सुधार्नका लागि सामूहिक प्रतिवद्धता आवश्यक रहेको बताइन्। त्यो परिवर्नका लागि मैले सुरु गर्नुपर्छ भन्ने धारणा नै आजको आवश्यकता भएको उनले बताइन्।

बाहिरि रुपले मान्छेको भित्रि कथा थाहा पाउन गाह्रो हुन्छ। बिहे नभएर मैले कति फाइदा उठाइरहेको छु। म जाहाँ जान सक्छु कसैलाई सोध्नु छैन। घरायसी झमेलाबाट मुक्त छु भन्ने अनुभूति छ। नेपालको पहिलो आनी गाडि चलाउने म पर्छु। मेरो जीवन निर्देशनको मालिक मै हुँ भन्ने कुरा बसैले बुझ्नु पर्ने आनी बताउँछिन्।

अनुसन्धानको ज्ञानभन्दा सूचनाको ज्ञान सतही भएकाले असान्ति बढ्दै गएको उनको भनाइ छ। ‘हरेक व्यक्तिले आफूले बोलेको कुरा पनि ठिक हो वा होइन भन्ने कुरा आत्मसमीक्षा गर्नुपर्छ। र, हामीले दिएका सूचनालाई पनि सही वा गलत के भनेर निर्क्यौल गर्नुपर्छ,’ उनले भनिन्।

सबै कुराको समाधान करुणाभाव भएको आनीको धारणा छ। त्यसैले सधैँ आफूमा अहंकारले कहिले कतै ठाउँ लेओस् भन्नमा सचेत रहेको बताएकी छन्। यसका साथै सुखी प्राप्तिका लागि राम्रो मान्छेको संगत आवश्यक हुने उनले बताइन्। शान्ति र सुख नपाएकै कारण नेपाली दर्शनतर्फ विदेशी आकर्षण बढ्दो रहेको उनले बताइन्।

जीवनमा विवाह गर्नुपर्छ भन्ने अनुभूति कहिले भएन भन्ने प्रश्नमा आनी भन्छिन्, ‘म यही जीवनमा मस्त छु। विवाह नगर्दैमा कोही एक्लो हुँदैन। वाल्यकालमा देखेको घरेलु हिंसाबाट प्रभावित भएर मनमा डर पलायो। बिहे गरे गरे पीडा पाइन्छ भन्ने छाप दिमागमा पर्‍यो। त्यसैले मन बहकिने परिस्थितिमा आफूलाई सम्झाए। र, सम्हाले। अहिले त्यसैमा बानी परेको छ। ५१ वर्षको उमेरसम्म आफ्नो दृढतामा अडिग छु,’ उनले भनिन्।