गृहले आन्दोलन नगर्न उर्दी जारी गरेपनि युवाहरू सडकमा उत्रिसके - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

गृहले आन्दोलन नगर्न उर्दी जारी गरेपनि युवाहरू सडकमा उत्रिसके



काठमाडौं- गृह मन्त्रालयले आन्दोलन नगर्न उर्दी जारी गरेपनि युवाहरू आन्दोलनमा उत्रिसकेका छन् । कोरोना महामारी नियन्त्रणका नाममा सरकारले गरिरहेको लापरवाही र राज्य कोषको दुरुपयोगका विरोधमा बिहीबार वीरगन्जमा युवाहरुले सडक प्रदर्शन गरेका छन् ।

युवाहरुको समूह संस्कृतिको अगुवाइमा वीरगन्जका युवा, युवती, सामाजिक अभियन्ताहरुले आदर्श नगर चोकमा बिहीबार साँझ सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले १० अर्ब खोइ ? बाच्दासम्म हाहाकार मरेपछि पिसीआर , आरडीटी टेष्ट बन्द गर, सबै नागरिकको पिसीआर टेष्ट अनिवार्य गर, सरकार आत्महत्याको दर हेर इम्युनिटी पावर होइन , क्वेरेन्टाइन व्यवस्थित गर, जस्ता नारा भएका प्ले कार्डसहित प्रदर्शन गरेका थिए ।

आदर्शनगर चोकबाट शुरु भएको विरोध ¥याली घण्टाघर चोकतर्फ आउने क्रममा प्रहरीले हस्तक्षेप गरेपछि प्रदर्शनकारीले महावीर मन्दिर चोकको सडकमा बसेर केहीबेर धर्ना पनि दिएका थिए।

लकडाउनमा जनतालाई घरमा थुनेर सरकारले कोरोना नियन्त्रणको बहानामा राज्य कोषको चरम दुरुपयोग गरिरहेकाले त्यसको विरोधमा सडकमा उत्रिएको संस्कृतिकी अध्यक्ष शैली चौधरीले बताइन् ।

यता शुक्रबार बिहानैबाट काठमाडौँमा पनि प्रदर्शन सुरू भएको छ । केही दिन यता युवाहरुको समूहले स्वतस्फुर्त रुपमा सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् । गृहमन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै लकडाउनको उल्लंघन गरी प्रदर्शन नगर्न धम्की दिएको थियो ।

तर गृहको धम्की बेवास्ता गर्दै युवाहरुको समूहले शुक्रबार पनि काठमाडौँको बसन्तपुरमा प्रदर्शन गरेको हो । बिहीबार नक्सालमा भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको थियो ।

नक्साल क्षेत्रमा ठूलो संख्यामा उपस्थित प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहोरा, लाठी चार्जका साथै अश्रु ग्याससमेत प्रहार गरेको थियो।

कोरोना नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको भन्दै सरकारविरुद्ध युवाहरुले नाराबाजी गरिरहेका छन् ।