आमालाई दुर्व्यवहार गरेको रिसमा कुटपिट गरी हत्या - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

आमालाई दुर्व्यवहार गरेको रिसमा कुटपिट गरी हत्या



अन्नपूर्ण पोस्ट : बनेपा । काभ्रेको बनेपा नगरपालिका -११ घट्टेखोलामा आमामाथि दुर्व्यवहार र धम्की दिने एक व्यक्तिलाई १८ वर्षीय छोराले कुटपिट गरी हत्या गरेका छन् । आमालाई बारम्बार घरमै आएर दुर्व्यवहार र कुटपिट गर्ने बनेपा-११ का ईश्वर थापालाई सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-३ का १८ वर्षीय वसन्त खड्काले हातखुट्टा भाँचेर हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनीलजंग शाहले जानकारी दिए ।

प्रहरी निरीक्षक शाहका अनुसार जेठ १४ गते राति ८ बजे ३७ वर्षीय ईश्वर थापाको कुटपिटबाट निधन भएपछि भागेका खड्कालाई विराटनगरबाट पक्राउ गरिएको हो । प्रारम्भिक अनुसन्धान क्रममा मृतक थापाले वसन्तको आमालाई बारम्बार दुव्र्यहार र कुटपिट गरेको आवेगमा छोराले बाँसको लट्ठी र फलामको रडले हानेर हत्या गरेको खुलेको छ । हत्या गरी भाग्ने क्रममा खड्कासहित घटनामा संलग्न बनेपा-४ का राजु सिक्देललाई भाग्दै गरेको अवस्थामा विराटनगरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका वसन्त भने दैनिकजसो घरमै आएर आमालाई मादक पदार्थ सेवन गरी कुटपिट र दुर्व्यवहार गरेको सहन नसकी आवेगमा कुटपिट गर्दा थापाको ज्यान गएको स्विकार्छन् ।

‘जेठ १४ गते दिउँसो हामी कोही नभएको बखत मेरी आमालाई कुटपिट गरी मरणासन्न पारी बुबा र आमाको नागरिकता, लालपुर्जासमेत खोसी लगेको र आमाको दयनीय अवस्था देखेर म साथीलाई लिएर ईश्वरको घरमा कागजपत्र लिन जाँदा ममाथि आक्रमण गर्न खोज्दा मैले बाँस र फलामको रडले कुटेको हो’, उनले थपे, ‘ईश्वर बस्ने अस्थायी टहरामा पुगेँ । मैले बाँस लिएर गएको थिएँ ।’ हातखुट्टा मात्रै भाँच्ने उद्देश्यले आफूहरू त्यहँ गएको उनले बताए ।

उनले थपे, ‘ उसले घरभित्रबाट हामीलाई काट्न चुप्पी बोकेर अपशब्द बोल्दै आयो, मैले रिसको सुरमा बाँसको भाटाले हातमा हान्दा पनि चुप्पी छाडेन, उसले उल्टै आक्रमण गर्न थाल्यो हामीले लालपुर्जा र नागरिकता माग्दासमेत दिन मानेन । उल्टै आमालाई अपशब्द प्रयोग गर्न थाल्यो अनि रिसले मैले कुटेको थिएँ तर मरेछ म त्यहाँबाट भागें ।’

बाबु गणेशबहादुर खड्काको चार महिनाअघि मृत्यु भएको बताउँदै खड्काले आफू वर्कसपमा मजदुरी गर्दै दैनिक चलाउँदै आएको बताए । उनी आमामाथि भएको दुर्व्यवहार सहन नसक्दा क्षणिक आवेगले जीवन बर्बाद भएको बताउँछन् । प्रहरीका अनुसार मृतक ईश्वरकी श्रीमती नभएकाले एक्लै बस्दै आएका थापा बारम्बार मादक पदार्थ खाएर जिस्क्याउने दुर्व्यवहार गर्ने गरेको मेनुका बताउँछिन् । प्रहरीले ईश्वरलाई पटक पटक मादक पदार्थ सेवन गरी अपशब्द बोलेकोमा विभिन्न समयमा पक्राउ गरी कारबाही गर्दै आएको थियो । नाताले मृतक थापा र मनुका भिनाजु-साली हुन् ।

ईश्वरको शव १४ गते उनकै टहरामा हातखुट्टा भाँचिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । प्रहरीले घटनामा संलग्न वसन्त र राजुलाई पक्राउ गरी कर्तव्य ज्यानमुद्दाअन्तर्गत म्याद थप गरी अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक शाहले जानकारी दिए ।