आमा–आमा भन्दा भन्दै नातिनीलाई हातैबाट बाढीले बगायो - Himal Post Himal Post
  • १५ पुष २०८१, सोमबार
  •      Mon Dec 30 2024
Logo

आमा–आमा भन्दा भन्दै नातिनीलाई हातैबाट बाढीले बगायो



फिदिम : छोरी गंगामाया र नातिनी प्रिया राई सिद्धेश्वरी मावि जिमाहामा कक्षा सातमा सँगै पढ्थे। गत बिहीबार विद्यालय छुट्टी भएपछि सानीआमा गंगामायासँगै प्रिया पनि हाजुरबा विष्णुभक्त र हजुरआमा राधिका राईलाई भेट्न हजुरबा र हजजुरआमा बस्दै आएको ताङ्लेपाको निवाखोला लघु जलविद्युत आयोजनाको पावरहाउस आएकी थिइन्।

‘छोरी र नातिनी आएपछि बिहीबार बेलुका सबै खुसी भयौँ,’ गहभारी आँसु पार्दै राधिकाले शुक्रबार बिहानको कहालीलाग्दो कथा सुनाइन्, ‘मुटुको टुक्राजस्तै छोरी र नातिनीसँग रमाएको २४ घण्टा बित्न नपाउँदै दैवले खुसी लुट्यो।’ छोरी र नातिनी आएको रात मुसलधारे पानी परेको थियो। बर्षाका कारण निवाखोला उर्लदै ढुंगामाथि माथि बुर्कुसी मार्दै थियो। खोला उर्लेको आवाजले रातभरी राधिका निदाउन सकिनन्। राधिकाले श्रीमान् विष्णुभक्तलाई पनि घरीघरी उठाउथिइन्। छोरी गंगामाया र नातिनी प्रिया एउटै ओछ्यानमा मस्तसँग निदाएका थिए।

‘शुक्रबार बिहान पाँच बजे नै उठेर चिया बनाएँ, श्रीमान भने छ बजे उठ्नुभयो,’ राधिकाले कहालिलाग्दो कथा सुनाइन्, ‘चिया पिएर सुरक्षित ठाँउतिर जाने योजना बनाउँदै थियौँ। तर, सर्न नपाउँदै श्रीमान नातिनी र छोरीलाई निवा खोलामा आएको बाढी र पहिरोले बगायो।’

छोरी र नातिनी निन्द्राबाट ब्यूझिएपछि त्यहाँबाट निस्कले योजना हुँदै थियो। खोलामा बढी झनै उर्लदै थियो। मुसलधारे बर्षा रोकिएको थिएन। यतिकैमा निवाखोलाले पावरहाउस नै बगाउन लाग्यो। राधिका नातिनी प्रियाको हात समाएर भाग्दै थिइन्। उनका श्रीमान विष्णुभत्तले छोरी गंगामायाको हात समाएर भाग्न खोज्दै थिए। ‘मेरो केही सिप लागेन हात समाएकी नातीनिलाई बाढीले भंगालोमा हाल्यो। मलाई छालले ट्वाइलेट छेउको झोसमा हुत्यायो,’ घिक्कघिक्क रुँदै राधिकाले भनिन्, ‘नातिनी आमा–आमा भन्दै बाढीमा बेपत्ता भइन्, छोरी समातेर पावरहाउ भित्रै चिच्याइरहेका श्रीमान् र छोरीलाई पनि आँखा अघि बाढीले बेपत्ता बनायो।’

बाढीको छालले हुत्याएर बाँचेकी राधिका घाइते छिन्। आँखा अघि बाढीले बगाएकी छोरी गंगामायाको शव भेटियो। बचाऊ बचाऊ भन्दै चिच्याएका श्रीमान विष्णुभक्त र आमा–आमा भन्दै बढीमा बगेकी नातिनीलाई अझै भेटिएको छैन। ‘सपनामा पनि आमा–आमा र बचाऊ बचाऊको आवाजले सताउँछ,’ कान कम सुन्ने घाइते राधिका भन्छिन्, ‘श्रीमान र नातिनी बाँचेका छन् भन्ने मलाई लाग्दैन। उनीहरुको लास देख्न पाए भने पनि अलिकति चित्त बुझ्थ्यो।’ घाइते राधिकाको एक हप्तापछि जिल्ला अस्पताल फिदिममा उपचार हुँदैछ। उनको हात, छाती ढाडमा चोट लागेको छ। छाती धेरै दुखिरहेको उनी बताउँछिन्।

खबर अन्नपुर्णपोष्टमा छ