विदेशी कुटनीतिज्ञलाई ओलीले भने: ‘आम माफी’ दिंदैनौं
प्रधानमन्त्री केपी शर्मा ओली र काठमाण्डुस्थित विदेशी कुटनीतिक नियोग प्रमुखबीच भेटवार्ता भएको छ ।
मंगलबार बालुवाटारमा भेला भएका कुटनीतिज्ञलाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेका छन् । उनले बितेको दशकमा नेपाल एेतिहासिक रूपमा रूपान्तरण भएको बताए ।
‘रूपान्तरण राजनीतिक रूपमा मात्र भएको छैन । त्यसले राष्ट्रिय जीवनका सबै पक्षहरूमा अनुभूत गरिएको छ’, उनले भने ।
ओलीले नेपालमा भारत वा चीनविरोधी कुनै पनि क्रियाकलाप हुन नदिन सरकार प्रतिबद्ध भएको बताए ।
‘दुवै छिमेकीविरुद्ध हुने कुनै पनि खाले गतिविधि नेपाली भूमिमा हुन दिँदैनौं । हामी हाम्रा छिमेकीसँगको सम्बन्ध आपसी सहयोगका सबै क्षेत्रमा सुदृढ बनाउन परिलक्षित छौ’, उनले भने ।
नेपालको लक्ष्य ‘सबैसँग दोस्ती र कोहीसँग शत्रुता नगर्ने’ रहेको प्रधानमन्त्री ओलीले सुनाए ।
संक्रमणकालीन न्यायका लागि सत्य निरुपण र मेलमिलाप आयोग सक्रिय रहेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘म फेरि भन्छु, मानवअधिकार र मानवीय कानुनको गम्भीर उल्लंघनमा आममाफी हुँदैन ।’
संक्रमणकालीन न्यायलाई बाहृय र आन्तरिक दबाव तथा हस्तक्षेपबाट मुक्त गराउने उनले बताएका छन् ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत मन्तव्य दिँदै विश्वसँग नेपालको सुमधुर सम्बन्ध रहेको र दुई निकट छिमेकीसँग ऐतिहासिक सम्बन्ध रहेको बताएका थिए ।
‘हामी छिमेकी मुलक, विकास साझेदार तथा अन्य मित्र राष्ट्रहरुसँग दुई पक्षीय विश्वास तथा सहयोग विस्तारको पक्षमा छौं’, ज्ञवालीले राजदूतहरुलाई सम्बोधन गर्दै भने ।
सरकारको विदेश नीति र प्राथमिकताको विषयमा जानकारी गराउने उद्देश्यले प्रधानमन्त्री ओलीले काठमाण्डुमा रहेका विभिन्न मुलुकका राजदूत र राष्ट्रसंघका आवासीय प्रमुखलाइ ब्रिफिंग गरेका हुन् ।