विमानस्थमा मन्त्री आलेले आफू ठगिएको कहानी सुनाउँदै यात्रुसँग मागे माफी

काठमाडौँ- पर्यटनमन्त्री प्रेमबहादुर आले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छड्के अनुगमनमा बिहानै पुगेपछि कर्मचारीहरू त्रसित बनेका थिए । काठमाडौँबाट भोजपुर जानुपर्ने ७ यात्रुलाई नेपाल वायु सेवा निगमको जहाजले विमानस्थलमै छाडेर उडेपछि साढे ६ बजे नै आले त्यहाँ पुगेका थिए ।
मन्त्री आलेले आन्तरिक टर्मिनलका प्रमुख पूर्ण चुडाललाई भवन भित्र रहेको क्याफे सोनिगाले अत्यधिक महँगो दरमा चिया/कफी बिक्री गरिरहेको गुनासो सेवाग्राहीबाट आएको भन्दै मूल्यबारे निगरानी गर्न निर्देशन दिएका थिए । मन्त्रीले आन्तरिक विमानस्थल अनुगमन गर्ने खबर पाएपछि उनीभन्दा अघि नै चुडाल त्यहाँ पुगिसकेका थिए।
आलेले विमानस्थलका एसएसपी राजेशनाथ बाँस्तोलालाई आफू पनि एयरपोर्टमा ठगीमा परेको घटना सुनाएर अनुगमन गर्न निर्देशन दिए । ‘यहाँका ट्याक्सीमा मिटर छैन की क्या हो ?,’ उनले एसएसपी बाँस्तोलालाई भने, ‘मनलाग्दी छ । कालो ट्याक्सीवालाले बार्गेनिङ गर्छन् । म पनि एकदुईपटक परेको छु । राति १ हजार माग्छ । धेरै पटक मै पनि परेको छु । राति हिँडेर जान सकिँदैन । यो कसले हेर्ने हो । ध्यान दिनुहोस् ।’
दसैंका कारण काठमाडौँ छाड्ने यात्रुको चाप टर्मिनलमा अत्यधिक थियो । सोमबार पनि ३ सय १२ वटा आन्तरिक उडानको सूची थियो । त्यसपछि आलेले आइतबारको भोजपुर उडानमा छुटेका ७ यात्रुको घटनाबारे जानकारी लिन निगमको त्यहाँ रहेको कार्यालयका कर्मचारीलाई बोलाए । मन्त्रीलाई सोमबार बिहानको ड्युटीमा रहेकी अधिकृत रिता बाँस्कोटा, सिनियर असिस्टेन्ट गोविन्द रायमाझी, होम पोखरेल, डिस्प्याचर सुरेश श्रेष्ठ लगायतका कर्मचारीले भोजपुर उडानमा ७ यात्रु छुटेको घटनाबारे बताए ।
आइतबार छुटेका ७ यात्रु सोमबार बिहान ९ बजे भोजपुर उड्दै थिए । उनीहरू आउँदै गरेको खबर पाएपछि मन्त्री टर्मिनल बाहिर निजी वायुसेवाका गाडी पार्किङ क्षेत्र अवलोकनमा गए । निगमको ह्यांगरबाट ८ बजे फर्केर मन्त्री आलेले भोजपुरको उडानमा छुटेका यात्रुहरूसँग आइतबारको घटनाबारे जानकारी लिए । यात्रुहरूले आफूहरूलाई निगमकै कारण छुटेको गुनासो गर्न न्युरोड जानु परेको, त्यहाँ टिकट बिक्री गर्ने अधिकृतले दुर्व्यवहार गरेको, टिकट लिन पनि कठिनाइ बेहोर्नु परेको गुनासो राखे ।
मन्त्री आलेले भने, ‘तपाईंहरूले दुःख पाउनु भयो, सरी है,’ निगमको अभिभावक मन्त्रीका हैसियतले यात्रुहरूसँग क्षमा माग्दै उनले भने, ‘अब राम्रोसँग जानु होला, शुभ यात्रा ।’
निगमको आन्तरिक टर्मिनल स्टेसनका प्रमुख शैलेन्द्र साहले यात्रु छुट्नुको मुख्य कारण आफ्नो मातहतको स्टेसन र कर्मचारी नभई निगमको न्युरोडस्थित सेल्स अफिस नै भएको जिकिर गर्न थाले । उनलाई मन्त्री आलेले ‘नीजिले यात्रुलाई बोलाई-बोलाई उडाउने अनि सरकारी सम्पत्ति खाली-खाली उडाउने ?’ भन्दै हकारे ।
मन्त्रीसँग झोक्किँदै प्रष्टीकरण दिइरहेका साहलाई मन्त्रीले ‘सेवाग्राहीलाई फोन गरेर किन नबोलाएको ? समन्वयमा किन कमजोरी गरेको?’ भन्दै झुटो नबोल्न निर्देशन दिए ।

