देउवालाई भेटेको स्वीकार गर्दै प्रेम आलेले दिए यस्तो स्पष्टिकरण - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

देउवालाई भेटेको स्वीकार गर्दै प्रेम आलेले दिए यस्तो स्पष्टिकरण



काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मन्त्री बनाउन आग्रह गरेको खबर सार्वजनिक भएपछि निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले मुख खोलेका छन् ।

आलेले आफूले देउवा र माधव नेपाललाई भेटेको स्वीकार गरेका छन् भने मन्त्री बनाउने प्रस्ताव भने आफूले नगरेको दाबी गरेका छन्। केपी ओली नेतृत्वको मन्त्रिपरिषद्का वनमन्त्री आलेले आफूले देउवा र माधव नेपाललाई भेटे पनि मन्त्री बनाइदिन आग्रह नगरेको दाबी गरेका हुन्।

ओली क्याबिनेटका मन्त्री आले आफूलाई मन्त्री बनाउन माग गर्दै देउवा निवास बूढानीलकण्ठ पुगेको खबर सार्वजनिक भएपछि उनले यस्तो स्पष्टीकरण दिएका हुन्।

विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन गर्दै उनले ठूलै पद दिए पनि आफूले कुनै हालतमा नेकपा (एमाले) र अध्यक्ष केपी शर्मा ओलीको साथ नछाड्ने बताएका छन्।

पार्टी एकताको लागि माधव नेपाललाई भेटेको स्वीकार गर्दै उनले त्यसलाई गुट परिवर्तनको लागि भनेर आफ्नो वदनाम गर्न खोजिएकोसमेत दाबी गरेका छन्।

देउवालाई विश्वासको मत दिने बेला ‘फ्लोर क्रस’ गरेर भए पनि भोट हाल्ने भन्दै उनले देउवासँग आफूलाई मन्त्री बनाइदिन आग्रह गरेको खबर विभिन्न सञ्चार माध्यमले छापेका थिए। उनले केपी ओलीतिरका ८ जना सांसदलाई फ्लोर क्रस गराएर भोट हाल्न लगाउँनेसमेत प्रतिवद्धता जनाएका स्रोतले जनाएको छ।

पछिल्लोपटक ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्दा आलेलाई हटाएपछि उनी ओलीसँग रुष्ठ बनेको चर्चा छ।