प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक: समय पनि बाझियो
काठमाडौँ- सत्तारुढ नेकपामा देखिएको विवादले उग्र रुप लिंदै जाँदा अनेक घटनाका दृश्यहरू देखिन थालेका छन् । सचिवालय बैठक तार्न अनेक प्रयत्न गरेका प्रधानमन्त्री ओलीले एकाएक मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीकाे केन्द्रीय सचिवालय बैठकको समयसँग बाझिने गरी आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। सचिवालय बैठक टुंगो नलाग्दै प्रधानमन्त्री ओलीले समय बाझिनेगरी मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका हुन् ।
मन्त्रिरिषद् बैठक बोलाएर केन्द्रीय सचिवालयमा बहुमतमा रहेका प्रचण्ड–नेपाल पक्षसँग समर्पण नगर्ने संकेत प्रधानमन्त्री ओलीले दिएका छन् । यससंगै आजको बैठकमा उपस्थित हुने भनिएका सचिवालय सदस्य तथा गृहमन्त्री राम बहादुर थापा बादल सहभागी हुन नपाउने भएका छन् ।
स्रोतका अनुसार बुधबार दिउँसो १ बजे प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्, सोही समयमा सचिवालय बैठक निर्धारण गरिएको थियो।