निवेदकको बहस सकियो, आज विपक्षीको तर्फबाट २ जनाले ५ घण्टा बहस गर्ने - Himal Post Himal Post
  • ८ माघ २०८१, मंगलवार
  •      Tue Jan 21 2025
Logo

निवेदकको बहस सकियो, आज विपक्षीको तर्फबाट २ जनाले ५ घण्टा बहस गर्ने



काठमाडौं- सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदन पक्षको बहस सकिएको छ भने आजबाट भने सरकारी पक्षको बहस सुरु हुने भएको छ। इजलासले निवेदक पक्षलाई १२ घण्टाको समय दिएको थियो। सो समयमा रिट निवेदकका तर्फबाट ३६ कानून व्यवसायीले बहस गरेका थिए।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिट निवेदनमाथि सुनुवाइको चौथो दिन आज रिट निवेदकका पक्षबाट बहस सकिएको हो। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा गत बुधबारदेखि नियमित बहस सुरु भएको हो।

विपक्षीको सोमबार बहस तालिका

विपक्षीको तर्फबाट सोमबार महान्यायाधिवक्ता कार्यालयका वकिलले बहस सुरु गर्नेछन्। महान्यायाधिवक्ता कार्यालयका ११ जना वकिलले साढे ७ घण्टा बहस गर्नेछन्। बाँकी साढे ६ घण्टा राष्ट्रपति र प्रधानमन्त्रीका निजी कानुन व्यवसायीले बहस गर्ने तय भएको छ।

सोमबार विपक्षीको तर्फबाट महान्यायाधिवक्ता रमेश बडालले बहस सुरु गर्दैछन्। उनका लागिसबै विषय समेट्ने गरी तीन घण्टा समय छुट्याइएको छ। उनीपछि नायब महान्यायाधिवक्ता पदम पाण्डेयले बहस गर्नेछन्। उनका लागि दुई घण्टा समय छुट्याइएको छ ।

बडाल र पाण्डेयपछि बाँकी साढे दुई घण्टामा महान्यायाधिवक्ता कार्यालयकै ९ जनाले बहस गर्ने छन्। नायब महान्यायाधिवक्ताहरु विश्वराज कोइराला, श्यामकुमार भट्टराई, टेकबहादुर घिमिरे, सहन्यायाधिवक्ताहरु गोपालप्रसाद रिमाल, खेमराज ज्ञवाली, लोकराज पराजुली, सञ्जीवराज रेग्मी, उद्धवप्रसाद पुडासैनी र उपन्यायाधिवक्ता दशरथ पंगेनीले बहस गर्नेछन्।

उनीहरुका लागि १५ मिनेटदेखि आधाघण्टासम्मको समय तोकिएको छ। बाँकी साढे ६ घण्टामा निजी कानुन व्यवसायीले बहस गर्ने भएका छन्।

निवेदकको बहसमा के भयो ?

निवेदक पक्षका कानून व्यवसायीको मुख्य जिकिरहरुमा नेपालको संविधानको धारा ७६ (३) अन्तर्गत बनेका वर्तमान प्रधानमन्त्रीले उपधारा ५ को प्रक्रियामा सहभागी हुन नपाउने र धारा ७६ (३) को विश्वासको मत गुमाएको प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्न अधिकार नभएको उल्लेख गरिएको छ।

यस्तै धारा ७६ (३) अनुसार गठित प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा त्यो मत नलिनु भनेको संविधानको अवमूल्यन हो भन्दै प्रधानमन्त्रीको पद रिक्त नहुँदै धारा ७६ को उपधारा (५) को प्रक्रिया सुरु गर्नु प्रक्रियागत रुपमै त्रुटिपूर्ण भएको कानून व्यवसायीहरुको भनाइ छ।

त्यस्तै राष्ट्रपतिको विषयमा रिट निवेदक पक्षको जिकिरमा धारा ७६(५) अन्तर्गत दाबी पेश गरिसकेपछि अस्वीकार गर्न मिल्दैन, त्यसको कार्यान्वयन गर्नु राष्ट्रपतिको दायित्व भएको बताउँदै उनीहरुले राष्ट्रपतिले लिखित जवाफमा पेश गरेजस्तो विश्वासको मतको यकिन गर्ने अधिकार राष्ट्रपतिको नभई संसदको विशेषाधिकार हो भनेका छन्। वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीदेखि बहस गर्ने अन्य कानून व्यवसायीको धारणा यही विषयमा केन्द्रित रहेको थियो।

सोमबारबाट सरकारी वकिलको बहस सुरु हुनेछ। सरकारी पक्षलाई १५ घण्टा बहस गर्न समय तोकिएको छ। त्यसपछि सभामुखका कानून व्यवसायीले एक घण्टाको समय पाउने छन्। त्यसपछि निवेदक पक्षले जवाफ दिने छन्। जवाफ सकिएपछि अदालतका सहयोगी (एमिकस क्युरी) को बहस शुसुरु हुनेछ। यी सबै बहसपछि मात्रै अदालतले अन्तिम फैसला गर्नेछ। सोही फैसलालाई राखेर प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गरिने बताइएको छ।

आइतबार वरिष्ठ अधिवक्ताहरु भण्डारी, यदुनाथ खनाल, डा चन्द्रकान्त ज्ञवाली, सविता भण्डारी, अधिवक्ताहरु भीमआर्जुन आचार्य, सतिशकृष्ण खरेल, योगेन्द्र अधिकारीलगायतले बहस गरेका थिए। संवैधानिक प्रक्रिया विपरीत प्रतिनिधिसभा विघटन गरेको उनीहरुको तर्क थियो। यस विवादमा ३० वटा रिट निवेदन परेका थिए। गत जेठ ८ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको जेठ ८ गतेको निर्णय बदर गरेर असंवैधानिक र गैरकानूनी घोषणा गर्न माग गर्दै अदालतमा ती निवेदनहरु दर्ता गराइएका थिए।