प्रधानमन्त्री विरुद्ध आजै अविश्वास प्रस्ताव: यस्तो छ दुई पक्षको तयारी - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

प्रधानमन्त्री विरुद्ध आजै अविश्वास प्रस्ताव: यस्तो छ दुई पक्षको तयारी



काठमाडौं- सर्वोच्च अदालतले पुन:स्थापना गरेपछि प्रतिनिधि सभाको बैठक बस्ने तयारी भएको छ । बैठकको नजिकिएपछि दलहरू यसको तयारीमा जुटेका छन् । यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूह र प्रमुख विपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक शुक्रबार बस्दैछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हठात् संसद विघटन गरेपछि उत्पन्न परिस्थितिको आंकलनसहित अबको बाटो कसरी तय गर्ने भन्नेमा प्रचण्ड-नेपाल समूह र कांग्रेसले लगातार छलफल गरिरहेका छन् ।

दुवै पार्टीले शुक्रबार दिउँसो एक बजे संसदीय दलको बैठक बोलाएका छन्। संसदीय दलको बैठकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताका लागि सहमति तयार गर्ने बताइएको छ ।

विकशित घटनाक्रम अनुसार सबैभन्दा पहिले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्रीबाट हटाउने र त्यसपछिको रणनीति तयार गर्ने दुवै पक्षले सहमति गरिसकेको स्रोतले बताएको छ । यसै सहमति अनुसार आजै अविश्वासको प्रस्ताव दर्ताका लागि दुवै पक्ष जुटेको बताइएको छ ।

संसद विघटन गरेका प्रधानमन्त्री ओलीलाई नैतिकताको आधारमा पनि सहयोग गर्न नसकिने कांग्रेसमा बौमत बनेपछि प्रचण्ड-माधव समुहलाई सघाउने रणनीतिमा सभापति देउवा लागेका हुन् ।

देउवाले आफै प्रधानमन्त्री बन्नेगरी तयारी गरेपछि कांग्रेसमा भने विवाद उत्पन्न हुनसक्ने आंकलन गरिएको छ । सरकारमा जाने नजानेबारे छलफल गर्न बिहीबार कांग्रेस पदाधिकारीको बेठक बसेको थियो। उक्त बैठकमा सभापति शेरबहादुर देउवाले नेकपाका दुवै समूहबाट सरकारमा सहभागी हुन प्रस्ताव आएको जानकारी गराएका थिए।

कांग्रेसले आजको बैठकमा सहभागी हुन सबै सांसदहरुलाई निर्देशन दिएको छ। पार्टीको निर्दशनपछि उपत्यका बाहिर रहेका सांसदहरु पनि काठमाडौं आइसकेका छन्।