'आइफा अवार्ड'का लागि पैसा नदिने अर्थमन्त्रीको घोषणा - Himal Post Himal Post
  • २९ माघ २०८२, बुधबार
  •      Wed Feb 11 2026
Logo

‘आइफा अवार्ड’का लागि पैसा नदिने अर्थमन्त्रीको घोषणा



काठमाडौं – आइफा अवार्डको लागि सरकारको निर्णयको चर्को बिरोध भैरहेको बेला अर्थमन्त्री युवराज खतिवडाले भारतीय चलचित्रहरुलाई पुरस्कृत गर्ने कार्यक्रम ‘आइफा अवार्ड’का लागि रकम नदिने बताएका छन्।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री खतिवडाले अवार्डका लागि पैसा दिने विषयमा सरकारले औपचारिक निर्णय नगरेको जानकारी दिए।

पूर्व परराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनी तथा पूर्वगृहमन्त्री भीम रावलले भारतीय चलचित्रको पुरस्कार वितरण सम्बन्धी कार्यक्रमलाई बजेट दिने सन्दर्भमा गरेको प्रश्नको जवाफ दिने क्रममा खतिवडाले बजेट नदिने प्रतिबद्धता पनि जनाए।

‘बजेट मैले नै दिने हो। निजी साझेदारी कार्यक्रम अन्तर्गत पर्यटन प्रवद्र्धनका लागि कार्य गर्ने भन्ने विषयमा छलफल भएको सम्म सुनेको हो’ उनले भने ‘बजेट दिने विषयमा मन्त्रिपरिषदमा औपचारिक निर्णय भएको मलाई थाहा छैन।’

शुक्रबार मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले अवार्ड कार्यक्रमका लागि बजेट दिने निर्णय भएको जानकारी गराएका थिए। मन्त्री बाँस्कोटाले अवार्डका लागि सरकारले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने भएकाले ४४ करोड रुपैयाँ भन्दा बढी बजेट दिने निर्णय भएको बताएका थिए।

सरकारको उक्त निर्णयको आलोचना भएको थियो। सामाजिक सञ्जालमा विभिन्न क्षेत्रका ब्यक्तिहरुले अवार्डले नेपाली सिनेमा जगतको विकासका लागि केही उपलब्धि नहुने भन्दै रकम दिन नहुने मत जाहेर गरेका थिए।

तर अर्थमन्त्री खतिवडाले भने मन्त्रिपरिषदको बैठकले त्यस्तो निर्णय गरेको बारेमा आफूलाई जानकारी नभएको बताए। उनले आफ्नो स्वीकृतीमा नै बजेट बिनियोजन हुने भन्दै आफू आइफा अवार्डका लागि बजेट दिने पक्षमा नरहेको बताए।