आहारा खोज्दै नेपाल - Himal Post Himal Post
  • १२ पुष २०८१, शुक्रबार
  •      Fri Dec 27 2024
Logo

आहारा खोज्दै नेपाल



कान्तिपुर : धनगढी ,कैलाली । भारतको दुदुवा राष्ट्रिय निकुञ्जको पाटेबाघ आहाराको खोजीमा कञ्चनपुरको वन क्षेत्रमा पुगेको छ । कैलालीको फूलबारीको पच्चीस घरस्थित भारतीय सीमाक्षेत्रबाट नेपाली वनमा प्रवेश गरेको बाघ कञ्चनपुर पुगेको हो ।

‘उसले कैलालीको वसन्ता जैविक मार्गमा झन्डै डेढ महिना बितायो,’ बाँकेको कोहलपुरस्थित तराई भूपरिधि कार्यक्रम (ताल) का सहप्रबन्धक गौतम पौडेलले भने, ‘अहिले कैलाली हुँदै कञ्चनपुर प्रवेश गरेको खबर छ ।’ यसबारे कञ्चनपुरको चोरीसिकार नियन्त्रण दल, शुक्लाफाँटा वन्यजन्तु निकुञ्ज कार्यालय र जिल्ला वनलगायत सरोकारवाला निकायलाई सूचित गरिएको उनले बताए । सहप्रबन्धक पौडेलले बाघ बासस्थान र आहाराको खोजीमा कैलाली र कञ्चनपुरको वनक्षेत्र घुमिरहेको जानकारी दिए ।
रेडियो कलर जडित उक्त बाघको गतिविधिको निगरानी भारतस्थित ताल परियोजनाले गरिरहेको छ । सहप्रबन्धक पौडेलले भने, ‘ताल भारतले विश्व वन्यजन्तु कोषको नेपालस्थित कार्यालयलाई बाघका बारेमा जानकारी दिइरहेको छ ।’

पौडेलका अनुसार बाघ एक दिनमा १५ देखि २० किलोमिटरको यात्रा गरिहेको छ । उनले बाघ सुरक्षित बासस्थानको खोजीमा रहेको बताए । कैलालीका वन अधिकृत नवराज काफ्लेले भारतको दुदुवा राष्ट्रिय निकुञ्जबाट उक्त बाघ चैत २ गते नेपाल प्रवेश गरेको बताए । धनगढी उपमहानगरपालिकाको फूलबारी क्षेत्रको नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीको दशगजा क्षेत्रमा आफूले समेत चैत ३ गते उक्त बाघ देखेको काफ्लेले बताए । ‘स्थानीय बासिन्दाबाट जानकारी पाएपछि त्यहाँ पुग्दा मोहनापारि दुदुवा जंगलको छेउमा बसेको अवस्थामा देखियो,’ उनले भने, ‘त्यही राति नेपाल प्रवेश गरी एकजना चौधरीको घरमा भएका ५ बंगुर खायो ।’

उनले बासस्थान र आहाराको खोजीमा रहेको बाघले डेढ महिनाको अवधिमा कैलालीको सम्पूर्ण वन क्षेत्रमा चक्कर मारिसकेको बताए । ‘जिल्लाको ठूलो वन क्षेत्र वसन्ता, मोहना र कर्णाली जैविक मार्गमा धेरै दिन बस्यो,’ उनले भने, ‘यहाँ बाघले केही अन्य वन्यजन्तुको सिकार गरेको देखिएको छ ।’

वसन्ता जैविकमार्ग सामुदायिक वन समन्वय समिति अध्यक्ष विजयराज श्रेष्ठले सामुदायिक वनक्षेत्रमा समेत बाघले अन्य साना वन्यजन्तुको सिकार गरेको जानकारी दिए । भखरिया सामुदायिक वनमा पनि एक निलगाईलाई बाघले खाएको बताए । ‘बाघ कञ्चनपुर पुगिसकेको भए पनि जानकारी नहुँदा स्थानीय त्रासमा छन,’ उनले भने ।फाइल तस्बिर :