रामचन्द्रले भने: ओलीको ताल, नाच्न नजान्ने आँगन टेडो - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

रामचन्द्रले भने: ओलीको ताल, नाच्न नजान्ने आँगन टेडो



काठमाडौँ । काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले एउटा चुनाव हारेपनि राजनीति नहारेको बताएका छन् ।

शुक्रबार पार्टीको विधान मस्यौदा समितिको सुझाव संकलनका लागि वीरगञ्जमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले नेपाल र नेपाली जनताको हित गर्ने पार्टी काँग्रेसले एउटा चुनाव हार्दैमा विचलित नभएको बताए । उनले एउटा चुनाव हारेपनि नेपालको राजनीतिमा नहार्ने पार्टी काँग्रेसमात्र भएको दावी गरे ।

उनले कम्युनिष्ट नेतृत्वमा सरकार गठन भएको सात महिना हुँदा समेत जनताका आधारभुत आवाश्यक्ता र विकासका काम सुरु नभएको भन्दै सरकार र सरकारको नेतृत्वको कडा आलोचना गरे ।

उनले मधेसवादी दलहरु समेत सत्ता र कुर्सीका लागि सिंहदरावार धाइरहेको भन्दै वर्तमान सत्तागठबन्धनबाट देशको सम्बृद्धि हुनै नसक्ने बताए । उनले प्रधानमन्त्री केपी ओलीले सरकारलाई काँग्रेसले काम गर्न नदिएको झुठा आरोप लगाइरहेको भन्दै आफुले काम गर्न नसकेपछि काँग्रेसलाई दोष दिएर उम्कन खोजेको बताए ।

‘नेपाली काँग्रेसले सरकारलाई काम गर्न कुनै बाधा पुर्याएको छैन । नाच्न नजान्ने आँगन टेडो भनेजस्तो सरकार र प्रधानमन्त्री ओली काम गर्न सक्दैनन्, अनि काँग्रेसलाई दोष दिन्छन् । काँग्रेस देश विकास र सम्बृद्धिका लागि सहयोग गर्न तयार छ’ नेता पौडेलको भनाई थियो । उनले कम्युनिष्ट नेतृत्वको सरकारले समाजबाद ल्याउनै नसक्ने ठोकुवा गरे ।

बरिष्ठ नेता पौडेलले भने, ‘कम्युनिष्टहरु हामीले सरकार र संसद सरकार बनायौ, अव कम्युनिजम ल्याउँछौ भन्छन् तर त्यस्तो छाँट देखिदैन । बरु नयाँ बर्ग जन्माउनुहोला, देशमा सम्बृद्धि आउने लक्षण छैन’ पौडेलको टिप्पणी छ ।

उनले नेपालमा जनताका नाममा धेरै आन्दोलन भएका र धेरै पार्टी खुलेपनि उनीहरुको हैसियत देखिएको बताए । ‘मधेसवादी दल पनि सत्ताका लागि हुन् भन्ने प्रश्ट भइसक्यो । राजपा र संघीय समाजवादी सत्ताकै लागि आएका रहेछन् भन्ने पुष्टि भइसकेको छ,’ मधेसवादी दलप्रति पौडेलको आक्रोश थियो ।

काँग्रेसले मात्रै मधेसी जनताको अधिकार दिने भन्दै संघीयता कार्यानवयनका सवालमा काँग्रेसले संविधान संशोधन गर्न तयार भएपनि कम्युनिष्टहरु नै नमानेको पौडेलले बताए ।

‘जनताको काम गर्ने आधार नै लोकतन्त्र हो, यो भयो भने, महिला, मधेसी, जनजाती, दलित सबैको अधिकार सुरक्षित हुन्छ । यो सुत्र काँग्रेसले बोकेको छ । काँग्रेसकै विचारले स्वाधीनता र स्वतन्त्रता पनि प्रदान गर्छ,’ नेता पौडलले दावी गरे ।