आगामी बजेटमा सूचना प्रविधिलाई प्राथमिकता: अर्थमन्त्री पौडेल - Himal Post Himal Post
  • ८ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 20 2026
Logo

आगामी बजेटमा सूचना प्रविधिलाई प्राथमिकता: अर्थमन्त्री पौडेल



काठमाडौँ– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सूचना तथा सञ्चार प्रविधिलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) र नेपाल दूरसञ्चार प्राधिकरणद्वारा आज आयोजित ‘कूल ग्राहस्थ उत्पादनमा टेलिकम क्षेत्रको भूमिका’ विषयक अन्तर्क्रियामा उनले सूचना, सञ्चार र प्रविधिका कारण अन्य क्षेत्रमा समेत विकास हुने भएकाले सो क्षेत्रमा लगानी बढाउनुपर्ने बताए।

अर्थमन्त्री पौडेलले भने, ‘हरेक क्षेत्रमा सञ्चार क्षेत्रको महत्व बढेर गएको छ, शिक्षा, स्वास्थ्यलगायत देशको आर्थिक विकासमा यसको उत्तिकै महत्व छ, तर देशको आर्थिक वृद्धिमा टेलिकम क्षेत्रको भूमिका र यसले पुर्‍याएको योगदानबारे तथ्यका लागि अध्ययन गर्नु पर्नेछ।’

आजको दुनियाँमा आइसिटीको क्षेत्र फराकिलो भइरहेको सन्दर्भमा सरकार ‘डिजिटल नेपाल’ फ्रेमवर्कअनुसार नै अगाडि बढिरहेको उनको भनाइ छ। उनले सरकारले मानव जीवन सुरक्षाका निम्ति महामारीका रूपमा रहेको कोरोना भाइरसविरुद्ध तीव्ररूपमा काम गरिहेको पनि बताए।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले आइसिटी समग्र विकाससँग जोडिने भएकाले पनि सो क्षेत्रलाई उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले डिजिटल नेपालको आकांक्षा पूरा गर्ने गरी प्राधिकरण प्रत्येक नागरिकसम्म इन्टरनेट पहुँच पुर्‍याउन तीव्र गतिमा काम गरिरहेको जानकारी दिए।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम खनालले ग्रामीण क्षेत्रमा देखिएको नेटवर्कलगायत टेलिकमसँग जोडिएका विविध समस्यालाई जतिसक्दो चाँडो समाधान गर्ने बताए।

सेजनका अध्यक्ष भीम गौतमले आइसिटी क्षेत्र देशको आर्थिकसँग जोडिएको हुँदा त्यस क्षेत्रको विकासमा सरकारले प्राथमिकता दिनुपर्ने माग गरे। रासस