आफ्नु पार्टी छाडेर तीन सय जना नयां शक्तिमा प्रबेश - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

आफ्नु पार्टी छाडेर तीन सय जना नयां शक्तिमा प्रबेश



भैरहवा, ८ माघ ।  नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले मधेशी, थारु, जनजाति लगायत असन्तुष्ट पक्षको माग सम्बोधन गर्न संविधान संशोधन अपरिहार्य रहेको बताएका छन् ।

संविधान जारी गर्दा नै अपूरो भएकाले सबै वर्ग, क्षेत्र, जाति र समुदायलाई संविधानप्रति अपनत्व महसुस गराउन र सबैका अधिकार सुनिश्चित गर्न संशोधन जरुरी रहेको भट्टराईले बताए । आज भैरहवामा आयोजित पार्टी प्रवेश तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री भट्टराईले एकथरिले मधेशी समुदायलाई नेपाली नै नठान्ने  र अर्कोथरिले मधेशलाई पृथक राज्य बनाउनुपर्छ भन्ने दुबै अतिवादी भएको तर्क गर्दै दुबै अतिवादबाट टाढा रहेर संविधान संशोधन गरी देशलाई निकास दिनुपर्नेमा जोड दिए ।

नेपालको सीमा सुरक्षा र राष्ट्रियताको रक्षा मधेशी जनताले गरेको इतिहास भुल्न नहुने उल्लेख गर्दै भट्टराईले अन्ध राष्ट्रवादले देशलाई एकतावद्ध गर्न नसक्ने प्रष्ट पारे ।  देशलाई  भावनात्मकरुपमै एकतावद्ध बनाउन खसआर्य–आदिवासी जनजाति र मधेशी तीनै क्लस्टरका समुदायको राज्यका हरेक निकायमा समानुपातिक प्रतिनिधित्व हुनुपर्नेमा नेता भट्टराईले जोड दिए ।

राज्यको कार्यकारी निकायमा सबै जाति, समुदाय, वर्ग र क्षेत्रको समानुपातिक प्रतिनिधित्वका लागि संसदको निर्वाचन पूर्ण समानुपातिक प्रणालीमा र सरकारको स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने शासकीय स्वरुपमा जानुपर्ने भट्टराईले बताए । ‘६–६ महिनामा सरकार फेरिने शासकीय स्वरुपले देशको विकास सम्भव छैन’–भट्टराईले भने–‘अब संविधान संशोधन गर्दा शासकीय स्वरुप पनि संशोधन गर्नुपर्छ ।’

 

नेपालको आन्तरिक राष्ट्रियता बलियो र मुलुक आर्थिकरुपमा आत्मनिर्भर बन्न सकेमात्र देशको राष्ट्रियता बलियो हुने र विदेशी हस्तक्षेप रोकिने भन्दै भट्टराईले खोक्रो राष्ट्रवादले देश र जनताको  हीत नगर्ने प्रष्ट पारे । ‘छिमेकीलाई दोष दिनुभन्दा आफू भित्र बलियो बनौं, आत्मनिर्भर बनौं’–भट्टराईले भने–‘घर बलियो भए कसैले हल्लाउन सक्दैन ।’ संविधानसभाबाट संविधान आएपछि राजनीतिक एजेण्डाहरु पूरा भएकाले अब जनताले आर्थिक समृद्धिसहितको परिवर्तन चाहेकाले त्यसलाई पूरा गर्न नै नयां शक्ति पार्टीको उदय भएको पुर्व प्रधानमन्त्री भट्टराईले प्रष्ट पारे । स्वाधीनता, सुशासन, सदाचार, समानुपातिक समावेशिता र सहभागितामूलक लोकतन्त्र जस्ता समय सापेक्ष र वैज्ञानिक एजेण्डाले गर्दा पार्टी गठन भएको छोटो समयमै नयां शक्ति पार्टी देश विदेशमा आकर्षणको केन्द्रमा रहेको र पुराना दलबाट नयां शक्तिमा प्रवेश गर्ने क्रम निरन्तर जारी रहेको भट्टराईले दावी गरे ।

सो कार्यक्रममा विश्वेन्द्र पासवान अध्यक्ष रहेको बहुजन शक्ति पार्टीका पूर्व लुम्बिनी अञ्चल संयोजक किस्मत वि.क. जिल्ला उपाध्यक्ष गंगाबहादुर सुनार, सो पार्टीको महिला विभाग संयोजक दुर्गा विक, नेपाल परिवार दल रुपन्देहीका अध्यक्ष गणेशमान बराल सहित सिंगो जिल्ला कार्यसमिति, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य दिलिपमणि त्रिपाठी, नेपाल एम्बुलेन्स महासंघका महासचिव मुक्ति काफ्ले,संघीय समाजवादी फोरम, नेकपा मसाल, नेपाली कांग्रेस, अखण्ड नेपाल पार्टी, लगायतका दलबाट गरी करिब तीन सय जना नेता कार्यकर्ता नयाँशक्तिमा प्रवेश गरेका छन् ।

सोही अवसरमा बोल्दै नवप्रवेशी किस्मत विक, दुर्गा विक, गणेशमान बराल, मुक्ति काफ्ले लगायतले मुलुकलाई समृद्ध बनाउने र सबै वर्ग समुदायलाई समानुपातिकरुपमा प्रतिनिधित्व गराउने नयां शक्तिको नीति मन पराएर यसमा समाहित भएको बताए ।  कार्यक्रममा  नयां शक्ति पार्टीको उत्पादन तथा रोजगार÷स्वरोजगार विभागका संयोजक वामदेव क्षेत्री, ५ नं. प्रदेश संयोजक दानबहादुर चौधरी, केन्द्रीय सदस्य ओमप्रकाश विक, रुपन्देही इन्चार्ज यज्ञ पोखरेल, रुपन्देही संयोजक देबेन्द्र पाण्डे सागर लगायतले मन्तव्य राखेका थिए ।

सोही अवसरमा पार्टीले संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने शासकीय स्वरुपको  लागि दवाव दिन हस्ताक्षर अभियान समेत रुपन्देहीमा शुरु गरेको पार्टीका रुपन्देही जिल्ला संगठन विभाग प्रमुख निर्दोष अलीले जानकारी दिए ।