यी हुन् आफ्नै आमाबुवाको विभत्स हत्या गर्ने छोरा

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा गत फागुन १४ गते राति भएको भण्डारी दम्पतीको हत्या प्रकरणमा आफ्नै छोरा पक्राउ परेका छन् ।
आफ्नो घरभित्रै मृत फेला परेका जयलाल भनिने जय बहादुर भण्डारी र उनकी कान्छी श्रीमती धना देवी भण्डारीको जयलालकी जेठी श्रीमती पट्टीका छोरा २६ वर्षीय भरत भण्डारीलाई प्रहरीले डडेल्धुराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
भण्डारी दम्पती हत्या प्रकरणमा उनकै छोरा भरतको संग्लनता देखिएकोले उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
अनुसन्धानका क्रममा विभिन्न तथ्यका आधारमा पक्राउ परेका भरतले आफ्ना बुवा र सौतेनी आमाको हत्या आफूले गरेको स्वीकार गरी बयान दिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।
फागुन १४ गते दिउँसो मोटरसाइकलको ट्रायल दिन डडेल्धुराबाट महेन्द्रनगर पुगेका भरतले सोहिदिन राति घरायसी वादविवाद हुँदा आफ्नै बुवा र सौतेनी आमाको हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ ।

