कांग्रेसबाट जितेका वडाध्यक्षको गाडी हतियारसहित बरामद
काठमाडौं- कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ४ र ५ को सीमानाबाट दुई थान हतियारसहित डीएल ३ सीसी आर ३९९७ नम्बरको भारतीय नम्बर प्लटेको फर्चुनर गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । तर गाडी धनी भने पक्राउ परेका छैनन् ।
सशस्त्र प्रहरीको टोलीले आज साँझ कलुवापुरबाट नियन्त्रणमा लिएको गाडीबाट प्वाईन्ट टुटु एल आर एक थान र सोको १४ वटा गोली, एक थान एयर गन र सोको १ सय ७६ वटा गोलीसमेत बरामद गरेको छ ।
गाडीबाट बिभिन्न बैंकका ६ वटा एटीएम कार्ड र आईएमइको कार्डसहित ७६ हजार रुपैयाँसमेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
गाडीमा बरामद भएका कागजात कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष रविन्द्र शाही गुड्डुको रहेको सशस्त्र प्रहरीले जनाएको छ । उनी कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।
लकडाउनको समयमा बाटोमा भारतीय नम्बर प्लटेको गाडी देखेपछि चेकजाँचका क्रममा हतियार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीको शैलेश्वरी गणको टोलीले अवैध हतियारसहितको गाडी बरामद गरेको हो ।
शैलेश्वरी गणका गणपति बीरसिंह साहुले बरामद गरिएको गाडी, हतियार, बैंकका कागजातहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई बुझाएको बताए।