दुर्भाग्यवस हामी तेस्रो चरणमा पुग्यौँ भने बर्बादै हुन्छ
-डिकेन्द्र ढकाल, समाजशास्त्री
कोरोना संक्रमणबारे नेपाल हिजो मात्रै दोश्रो चरणमा पुगेको पुष्टि भएको छ । पहिलो चरण भनेको कोरोना संक्रमण देश बाहिरबाट आएको व्यक्तिमा देखिनु हो । दोश्रो चरणमा पुग्नु भनेको मुलुकभित्रै संक्रमण एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सरेको पाइनु हो ।
यसलाई महामारी विज्ञानको भाषामा समुदाय संक्रमणको चरण भनिन्छ । समुदाय भन्नाले सजिलै पहिचान गर्न सकिने समुह हो: जस्तै परिवार, भेटघाट हुने वरिपरीका साथिभाइ नातागोताको संजाल आदि । यी समुदाय सजिलै पहिचान गरेर सबैलाई क्वारेन्टाइन र एकान्तवासमा राख्न सकिन्छ ।
थप क्षति हुनबाट जोगाउन यो निकै संवेदनशील र होसियारी अपनाउनु पर्ने चरण हो । नेपालको हकमा यति बेला सरकारले लकडाउन थप कडा बनाउनु पर्ने देखिन्छ र नागरिकले पूर्ण जिम्मेवार बन्नुपर्ने देखिन्छ ।
भारतको उदाहरण लिऊँ । २ हप्ताअघि मार्च २०मा भारतमा संक्रमितको संख्या ३६० मात्रै थियो । अहिले ३५८८ पुगेको छ । यो वृद्धि भनेको २ हप्तामै १० गुणा अर्थात् ९००% हो । यो भारतमा भैरहेको समुदाय संक्रमणको चित्र हो ।
त्यसैले नेपालमा समुदाय संक्रमण भइरहेको छैन वा अब नियन्त्रणमा छ भन्न पटक्कै सकिन्न । बाहिरबाट आएका तर बिरामी नभएकाले संक्रमित नठानिएकाबाट अरुहरुलाई सरिरहेको हुनसक्छ । यो भाइरसबाट संक्रमित सबै बिरामी भैहाल्छन् भन्ने पनि होइन ।
आफू स्वस्थ भैकन पनि प्रत्यक्ष सम्पर्कमा रहेका अरुलाई सारिरहेका हुन सक्छन् । त्यसैले सचेत बनौँ । अझै थप अनुशासित बनेर सामाजिक दुरी कायम राखौँ । घरमै बसौँ ।
अब नेपालको सन्दर्भमा घरमैँ बसौँ भनेको के हो त ? घरमा बस्ने भनेको घरपरिवारका बाहेक अरुलाई नभेट्ने भनेको हो । घरभित्र पस्न भाइरस डराउँछ, त्यसैले ढोका थुनेर घरभित्र बसेर गाउँटोलका मानिस थुप्रेर तास खेलौँ, भजन गरौँ वा अरु काम गरौँ भनेको पनि होइन ।
कुरा सिधा छ, घरपरिवारभन्दा बाहिरकालाई भेट्दै नभेटौँ । बाटाघाटामा हिँड्दा अरुले खोकेको, हाछ्यू गरेको वा भर्खरै बाहिर फालेको हावाबाट भाइरस हामीभित्र प्रवेश गर्न सक्ने हुनाले सुरक्षित आफ्नै घर कम्पाउन्ड नै हुन्छ भनिएको हो ।
घरमा बस्दा सकेसम्म घरका खुला ठाउँमा बस्न स्वस्थकर हुन्छ । करेसाबारी, बगैँचा, कौसी, बार्दली, आँगन, छत वा झ्याल, ढोका खुला राखिएका कोठाहरु । जति हावा खेल्ने ठाउँ भयो उति नै भाइरस हावामा तैरिरहने सम्भावना निकै कम हुन्छ । जमिनमा ल्यान्ड गरिसकेको भाइरसबाट डराउनुपर्दैन । गाउँघरमा खेतबारी, गोठ, घाँस दाउरा गर्ने बनजंगल सबै सुरक्षित छन्।
दुर्भाग्यवस हामी तेस्रो चरणमा पुग्यौँ भने बर्बादै हुन्छ । तेस्रो चरण भनेको कस्लाई कोबाट स-यो भन्ने पत्तै लगाउन नसकिने चरण हो । यति बेला जो पनि सङ्क्रमित हुन सक्छन् । यो चरणमा स्थिति भद्रगोल भैसकेको हुन्छ र नियन्त्रणबाट बाहिर हुन्छ ।
चौथो चरण भनेको देशभरि रोग फैलिरहेको अवस्था हो । मुलुकभरि धेरै ठाउँमा ठूलो संख्यामा संक्रमित हुन्छन् र दिनहुँ ठूलो संख्यामा मृत्युका समाचार छिन छिनमा आइरहेका हुन्छन् । उपलब्ध औषधीमुलो, स्वास्थ्यसेवाले धान्न गाह्रो भएको हुन्छ ।
अमेरिका अहिले चौथो चरणमा पुगिसकेको छ । अर्थतन्त्र समेत डामाडोल हुने स्थितिमा हुन्छ । स्रोतसाधन नभएका मुलुकले केही गर्न नसक्ने र मात्र प्रार्थना गरेर बस्नुपर्ने अवस्था हुन्छ ।
(तथ्यांक/सूचना स्रोत: भर्खरै मात्र मेरा मित्र केन्ट स्टेट युनिभर्सिटीका एपिडिमिओलोजिस्ट प्रोफेसर माधव भट्टसँग मैले गरेको कुराकानीमा आधारित)