ओम्नीलाई सरकारको ज्वाईँ बनाउन पोखरेल, ढकाल र रिमाल योजनाकार - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

ओम्नीलाई सरकारको ज्वाईँ बनाउन पोखरेल, ढकाल र रिमाल योजनाकार



काठमाडौं– ‘दलका नेता र कर्मचारीलाई साइजमा राख्यो भने कुनै पनि काम गर्न गाह्रो छैन। उनीहरूलाई साइजमा राख्न जान्नुपर्छ।’ यस्तै अभिव्यक्ति दिन्थे, तुलबहादुर सिंह (हरि)। कोरोना रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री चीनबाट ल्याउँदा उनै सिंह चरम विवादमा परे।

सिंह अध्यक्ष रहेको ओम्नी समूहले करोडौं हिनामिना गरी महँगोमा चीनबाट स्वास्थ्य सामग्री खरिद गरेको थियो। त्यसमा विवाद देखिएपछि प्रधानमन्त्री केपी ओलीको ठाडो निर्देशनमा सरकारले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसल प्रालिसँगको खरिद सम्झौता खारेज ग¥यो। संकटका बेला त्यति ठूलो रकमको स्वास्थ्य सामग्री ल्याउने हिम्मत सिंह एक्लैले भने गरेका थिएनन्।

उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायतको योजनामा सिंहले स्वास्थ्य सामग्री ल्याउने अवसर पाएका थिए। उपप्रधानमन्त्री पोखरेल, स्वास्थ्यमन्त्री ढकाल र सल्लाहकार रिमालसँग सिंहलाई निकट बनाउने काम झापाका युवराज शर्माले गरे।

शर्मा शैक्षिक व्यापारी हुन्। उनले लामो समयदेखि काठमाडांैमा शैक्षिक संस्था सञ्चालन गर्दै आएका छन्। त्यसबाट उँभो नलाग्ने देखेपछि शर्माले आफूलाई प्रधानमन्त्रीनिटक भएको देखाएर बिचौलियाका रूपमा काम गर्न थाले। उनकै कनेक्सनले चीनबाट स्वास्थ्य सामग्री ल्याउने काम ओम्नीले पाएको स्रोतले बताएको छ।

ओम्नीले ठेक्कापट्टाको काम गर्दै आएको थियो। उक्त कम्पनीले स्वास्थ्य सामग्रीसम्बन्धी बिचौलियाको काम भने कहिल्यै गरेको थिएन। त्यही भएर सिंहलगायतको टोलीले स्वास्थ्य सामग्रीको ठेक्कापट्टा गर्दै आएका व्यापारी विशाल पण्डितको सहयोग लिए। पण्डित र केही चिकित्सक बसेर सूची बनाए।

त्यही आधारमा ओम्नीले चीनबाट स्वास्थ्य सामग्री ल्यायो। खरिद प्रक्रियाबारे प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन्।यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।