भारतले कोरोना किट पनि नदिने: नेपालमा समस्या बढ्दै - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

भारतले कोरोना किट पनि नदिने: नेपालमा समस्या बढ्दै



काठमाडौं- भारतले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि बिरामीको स्वास्थ्य परीक्षणका लागि प्रयोग गरिने डायग्नोस्टिक किट्सको निर्यातमा समेत रोक लगाएको छ ।

जबकि करिब दुई साताअघि नै भारत सरकारले अत्यावश्यक भेन्टिलेटर र स्यानिटाइजरको निर्यातमा पनि रोक लगाइसकेको छ ।

निर्यातमा रोक लगाइएको परीक्षण किट्स विशेषगरी बिरामीमा देखिएको संक्रमणको पहिचान गर्न प्रयोग गर्ने गरिन्छ । भारतको वैदेशिक व्यापार महानिर्देशनालयले शनिबार एक सूचना जारी गर्दै त्यस्तो रोक लगाउने निर्णय गरेको हो ।

‘परीक्षण किटहरू (परीक्षण वा प्रयोगशालामा प्रयोग गरिने कुनै पनि पदार्थ) को निर्यातमा तत्काल रोक लगाइएको छ,’ महानिर्देशनालयद्वारा जारी सूचनामा भनिएको छ ।

पछिल्लो निर्णयसँगै भारतबाट हुने परीक्षण किटको निकासीमा रोक लागेको छ । भारतले लगाएको यो रोकले नेपालमा कोभिड–१९ भाइरसलगायत अन्य रोगको परीक्षणका लागि आवश्यक पर्ने सामग्रीहरूको अभाव हुन सक्ने जानकारहरू बताउँछन् ।

नेपालमा प्रयोग हुने डायग्नोस्टिक किट्स बढीजसो जापान, जर्मनी, चीनलगायत मुलुकमा बन्ने गरे पनि तिनको क्षेत्रीय विक्रेता भारतमै केन्द्रित रहेकाले रोक लगाउने पछिल्लो निर्णयले नेपालमा त्यस्ता किट्सको अभाव हन सक्ने उनीहरूको तर्क छ । यद्यपि भारत सरकारबाट लाइसेन्स प्राप्त निश्चित व्यवसायी वा कम्पनीले भने सामग्री निर्यात गर्न पाउनेछन् ।

भारत सरकारले भेन्टिलेटर र स्यानिटाइजरको निर्यातमा त दुई साताअघि नै बन्देज लगाइसकेको छ । महानिर्देशनालयले नै गत २४ मार्चमा यी सामग्रीको निकासीमा रोक लगाउने निर्णय गरेको थियो । भारतमा कोरोना महाव्याधीको प्रकोपसँगै यी अत्यावश्यक सामग्रीको माग बढ्दै गएपछि निर्यातमा रोक लगाउने निर्णय गरिएको हो ।

भारतीय राष्ट्रिय कांग्रेसलगायतका विपक्षी दलहरूले समेत देशभित्रै यी सामग्रीहरूको अभाव भएको हुँदा तत्काल निर्यातमा रोक लगाउनुपर्ने माग गरेका थिए । भारतको निर्णयले नेपालका लागि हुने निर्यातलाई प्रभाव नपार्ने दिल्लीस्थित दूतावासका अधिकारीहरूले दाबी गर्दै आएका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।