कोरोना शङ्का गरिएकी युवतीको निधन - Himal Post Himal Post
  • ८ माघ २०८१, मंगलवार
  •      Tue Jan 21 2025
Logo

कोरोना शङ्का गरिएकी युवतीको निधन



चितवन– कोरोना सङ्क्रमणको शङ्का गरिएकी एक युवतीको चितवनको अस्पतालमा निधन भएको छ ।

भरतपुर अस्पतालमा शुक्रबार बिहान निधन भएकी उनको स्वाब परीक्षण गरिने भएको छ । परीक्षणको नतिजा नआएसम्म मृत शरीरलाई छुट्टै सुरक्षित राखिएको छ ।

अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार बिहीबार राति सिन्धुली घर भएकी २६ वर्षीया उषाकुमारी राईलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो ।

राति १२ बजे अस्पताल ल्याइएका राईको सघन उपचारकक्षमा उपचारकै क्रममा बिहान २ बजे निधन भएको हो । अधिकारीले उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिने बताए ।

युवतीको निधनको कारणबारे नतिजा आएपछि थाहा हुने भएकाले उच्च सावधानी अपनाइएको उनले जानकारी दिए । कोरोना भाइरसको त्रास भएकाले ज्वरो आएका बिरामीको उपचारमा विशेष सतर्कता अपनाइएको छ ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार सिन्धुलीको हरिहरपुर गाउँपालिका–२ की राईलाई हेटौँडा अस्पतालले राति थप उपचारका लागि भरतपुर अस्पताल पठाएको हो । उनलाई उच्च ज्वरो थियो ।

अस्पतालमा हरेक महिना विभिन्न कारणबाट ५० देखि ५५ जनाको निधन हुने गरेको उनले जानकारी दिए । यद्यपि ज्वरोका बिरामीको उपचारका क्रममा निधन भएमा स्वाब परीक्षण गर्न थालिएको हो ।