सीमामा नेपाली अलपत्र पारेको भन्दै नेकपाकै नेताको विरोध - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

सीमामा नेपाली अलपत्र पारेको भन्दै नेकपाकै नेताको विरोध



काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सीमानामा आइसकेका नेपालीलाई खुला आकाशमुनि राखिएको भन्दै आपत्ति जनाएका छन्।

‘नेपालभित्र प्रवेश गरिसकेका नेपालीहरुलाई सिमानामा अलपत्ररुपमा खुला बारीमा राखिएको खबर सत्य हो भने ज्यादै अमानवीय, गैरजिम्मेवार र दुख:द हो। उनीहरुलाई क्वारेन्टिनमा राख्न कसैको आदेश चाहिँदैन। तत्काल विशेष क्वारेन्टिनमा राखौं’, श्रेष्ठले ट्विटरमा लेखेका छन्।

उनले सीमानामा आइसकेका नेपालीलाई खुला आकाशमुनि राख्नु सुन्नै नसकिने कुरा भएको पनि उल्लेख गरेका छन्।

‘विदेशमा रहेका लाखौंलाख नेपालीहरुलाई सरकारले अहिलेको सन्दर्भमा देशभित्र ल्याउन व्यवहारिकरुपमा सम्भव नहुने भन्नुको अर्थ देशभित्र आइसकेकालाई सिमानामै खुला आकाशमुनि राखिराख्नु हुनै सक्दैन’, उनी लेख्छन्, ‘सुन्नै नसकिने यो कुरा संघीय सरकारको नीति हो भनेर कसले भनेको वा व्याख्या गरेको? हुनै सक्दैन।‘

पछिल्लो समय नेपाल तथा भारत दुवैतिर लकडाउन भएपछि विभिन्न कष्ट सहेर सिमानासम्म आएका नेपालीलाई पनि सरकारले सीमा पार गर्न दिएको छैन। कतिपयलाई भारत सरकारले क्वारेन्टाइनमा राखेको भए पनि कतिपयले भने सीमा क्षेत्रमै सकस व्यहोरिरहेका छन्।