सीमानामा अलपत्र ११ जनाको उद्दार गरि घोडाघोडीको क्वारेन्टाइनमा राखियो

विशाल पाण्डेय/कैलाली
कैलालीको घोडाघोडी नगरपालिकाले कञ्चनपुरको ब्रह्मादेवमा अलपत्र परेकालाई उद्दार गरि क्वारेन्टाइनमा राखेको छ ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमबाट रोकथाम तथा नियन्त्रणका लागि घोडाघोडी नगरपालिकाले संचालनमा ल्याएको क्वारेन्टाइनमा गएराती ब्रह्मादेवबाट ११ जनालाई उद्दार गरि राखिएको हो ।
भारतको उत्तराखण्डमा काम गर्दै आएका उनिहरु दुई दिन अघि कञ्चनपुरको ब्रह्मादेव पुगेका थिए । गएराती नगरपालिकाको सवारीसाधन गएर कञ्चनपुरबाट उद्दार गरिएको र आज बिहान स्वास्थ्य परिक्षण गरि क्वारेन्टाइनमा राखिएको घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले जानकारी दिए ।
उनीहरु घोडाघोडी नगरपालिका -५ का बासिन्दा हुन् ।जसमध्ये ८ जना पुरुष र ३ जना महिला रहेका छन् ।उनिहरुलाई निर्धारित समयसम्म क्वारेन्टाइनमा राखिने घोडाघोडी नगरपालिकाको स्वास्थ शाखाले जानकारी दिएको छ ।
उनिहरुमा अहिले केही पनि लक्षण नदेखिएपनी पछि देखिन सक्ने र अन्य मानिसहरु पनि सुरक्षित रहने हुँदा सम्झाइ बुझाइ गरेर करिब १४ दिनसम्म क्वारेन्टाइनमा राखिने स्वास्थ शाखाले जनाएको छ । यस अघि नगरपालिका को वडा नं १ र ८ का गरि ४ जना क्वारेन्टाइनमा रहेका थिए । क्वारेन्टाइनमा बसेकाहरुलाई खाना र बस्नको कुनै समस्या हुन नदिने क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्य रमेश आचार्यले जानकारी दिए ।
कोरोना नियन्त्रणका लागि सरकारले अन्तर्राष्ट्रिय सिमा नाकाबाट यात्रुहरु ओहोरदोहोरमा रोकसंगै नेपाल लकडाउन गरेपनी नेपाल आउने क्रम भने रोकिएको छैन । सुदूरपश्चिम प्रदेशको दुई नाकाबाट तीन सातामा एक लाखभन्दा बढी मानिस नेपाल भित्रिएका छन् । कोरोना भाइरस संक्रमितको संख्या नेपालमा ५ पुगेको छ ।

