हात मिलाउने चलन: अब सधैको लागि अन्त्य हुनसक्छ - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

हात मिलाउने चलन: अब सधैको लागि अन्त्य हुनसक्छ



एजेन्सी- विश्व महामारी कोभिड– १९ सकिएपछि आगामी धेरै वर्षसम्म हात मिलाउने र अंकमाल गर्ने जस्ता चलन हराउन सक्ने वैज्ञानिकहरुले बताएका छन् ।

कोरोनाबाट जोगिन अहिले विश्वभर नै शारीरिक सम्पर्कबाट टाढा आइसोलेसनमा बस्न भनिएको छ जसले मान्छेको ‘कमन’ व्यवहारमा ठूलो परिवर्तन ल्याउने उनीहरुले बताए ।

कोरोनालाई लिएर अत्यधिक सर्तकता अपनाइएको हुँदा, कोभिड–१९ को सामना गरिरहेका पिँढी धेरै लामो समयसम्म हात मिलाउन हिचकिचाउने र शारीरिक स्पर्ष गर्नुपर्ने किसिमका अभिवादनसँग डराउने बताइएको छ ।

यस्तोमा हात मिलाउने चलनलाई सामान्य मुन्टो हल्लाउने जस्तो अभिवादनले प्रतिस्थापन गर्न सक्ने बताइएको हो । व्यावसायिक बैठक र सम्मेलनहरुमा समेत यही चलन अपनाउन सुरु गरिने बताइएको छ ।

त्यस्तै सबै सतहलाई संक्रमणविहीन राख्न नियमित केमिकलले सफा गरिरहने व्यवहार हट्न पनि समय लाग्नेछ भने स्यानिटाइजरको प्रयोग पनि उल्लेखनीय रुपमा बढ्ने उनीहरुले बताएका हुन् ।

जस्तै अहिले युरोपमा सामाजिक दुरीकरणको उपाय ६ महिनासम्म अपनाइरहनुपर्ने भएमा, मान्छेले दैनिकीमा नयाँ बानी विकसित गर्नेछन् जसलाई रोग सकिए पनि पछि छाड्न धेरै कठिन हुनेछ ।

नोटिङगाम ट्रेन्ट युनिभर्सिटीमा सामाजिक विज्ञानका प्रोफेसर रोबर्ट डिङवालले भनेका छन्, “अब आगामी दिनहरुमा हामीले हात धुँदा झन् झन् सावधानी अपनाउँदै जानेछौँ ।

यता ‘मिटू’ का कारण महिला र पुरुषबीच पहिले नै दुरी राख्ने चलन बढेको थियो जसलाई सामाजिक दुरीकरणले थप सहज बनाइदिएको छ । तर पनि हामी लामो समय एकअर्काबाट ६ फिट टाढा रहिरहन भने सक्दैनौँ । तापनि आज भन्दा पाँच वर्ष अगाडि हामीले साथी भाइलाई जति अंकमाल गथ्र्यौँ त्यति अब सायद गर्नेछैनौँ ।”

यसरी भाइरसका कारण मानिसहरुले सरसफाइमा बढी ध्यान दिन सुरु गर्नु भने राम्रो कुरा हो ।

‘अमेरिकन सोसिओलोजिकल असोसिएसन’ का पूर्वअध्यक्ष जो फिजनका अनुसार वैज्ञानिकहरुले अनुमान गरे अनुरुप सामाजिक दुरीकरण १८ महिनासम्म लागु भएमा यसले मान्छेको सामाजिक अन्तरक्रियाको तरिकामा सधैँका लागि ठूलो परिवर्तन ल्याउन सक्छ ।

तर शारीरिक स्पर्षको अभावमा यसले मान्छेको भावनात्मक गुणमा भने नकारात्मक प्रभाव पार्नेछ किनकि त्यसले नै मान्छेलाई माया र सद्भावको आभास गराउँदै आएको छ । अहिले नै हात मिलाउनु विगतको कुरा भइसकेको छ ।