सीमानामा नेपाली अलपत्र पार्ने र गरिब कुट्ने बाहेक सरकारले केहि गर्न सक्दैन: लेखनाथ न्यौपाने - Himal Post Himal Post
  • ८ माघ २०८१, मंगलवार
  •      Tue Jan 21 2025
Logo

सीमानामा नेपाली अलपत्र पार्ने र गरिब कुट्ने बाहेक सरकारले केहि गर्न सक्दैन: लेखनाथ न्यौपाने



काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले वर्तमान व्यवस्था पूँजीवादी भएकाले जनताको पक्षमा काम नहुने बताएका छन्।

जनताको पक्षमा काम गर्ने वर्तमान व्यवस्थाको धर्म नभएको उनको भनाइ छ। सामाजिक सञ्जालमा नेता न्यौपाने लेख्छन्,‘यो व्यवस्था गरिब मजदुर, किसान र आर्थिक अवस्था कमजोर भएका जनताको पक्षमा काम गर्ने यसको धर्म नै होइन’

लकडाउनमा प्रशासनले चालेका कदम तथा सुरक्षाकर्मीको व्यवहारप्रति उनले आपत्ति जनाए। नेपाल प्रवेश गर्न नपाएका नेपाली, प्रहरीको कुटाई खाने युवा, महाकालीमा हामफाल्ने सबै गरिब नेपाली भएको उल्लेख गर्दै उनले तिनीहरुको पक्षमा वर्तमान व्यवस्था नभएको टिप्पणी गरेका छन्।

‘चामलको पोको बोकेर घर जादै गर्दा प्रहरीको निर्घात लाठी खाने सप्तरीका दुई युवा, धारचुलामा बन्दी बनाइएका चार सयभन्दा बढी मजदुरहरू गरिब नेपाली हुन्,’ उनी लेख्छन्,‘महाकालीमा हामफाल्ने त्यो युवा अनि गड्डाचौकी नाकामा जम्मा भएर हामी नेपालीलाई नेपाल पस्न दे भनेर नारा लगाउने सयौ नेपालीहरू सबै गरिब हुन्।’ जनतालाई पूँजीवादी व्यवस्था र यसका सञ्चालकहरूले लुटपाटबाहेक अरू नगर्ने न्यौपानेले बताए।

जुनसुकै पार्टीको आवरणमा लुके पनि र देश जस्तोसुकै संकटमा परे पनि लुटपाट मच्चाउनु पूँजीवादीहरुको खास धर्म भएको उनले तर्क छ।

भ्रष्टाचार ठालु र सत्तासीनहरूले नै गर्ने नेता न्यौपानेको दाबी छ। भ्रष्टाचार पूँजीवादको कर्म भएको उल्लेख गर्दै न्यौपानेले भ्रष्टाचार तल्लो तहका जनतामाथिको लुटपाट भएको बताए।