भ्रष्टाचारबारे प्रश्न गर्दा स्वास्थ्यमन्त्री ढकालले भने: ‘जवाफ दिन जरुरी छैन’
काठमाडौ- कोरोनाभाइरसको संक्रमण तिब्र गतिमा फैलन थाले संगै नेपाल सरकार पनि जनताको सुरक्षाको लागि आवश्यक कदमहरु चाल्न थालेको छ ।
तर सरकारको यी कदमहरुमा भ्रष्टाचारको गन्ध आउन थाले पस्चात लकडाउनमा घर भित्र बसेका नेपाली नागरिकहरु निराश व्यक्त गरिरहेका छन् र सरकारलाई प्रश्न गरिरहेका छन् । र सरकारका मन्त्रि भने यस्ता प्रश्न को जवाफ दिन अहिले जरुरी छैन भनछन ।
कोरोनाभाइरसको रोकथामका लागि अत्तिआवश्यक स्वास्थ्य सामाग्री अन्तर्राष्ट्रिय बजारमा चलेको मूल्य भन्दा दोब्बर देखि सात गुणा बढी मूल्य तिरेर सरकारले किनेको छ ।
महामारीको समयमा चर्को मूल्य पर्नु स्वाभाविक त होला तर सरकारले रातारात सामग्री खरिद गर्न एउटा कम्पनीलाई सीधै ठेक्का प्रदान गर्दा भ्रष्टाचारको गन्ध पाईएको छ ।
नयाँ पत्रिकामा प्रकाशित समाचार अनुसार नेपाल सरकारलाई सामग्री आपूर्ति गर्न विधिवत् रूपमा १९ कम्पनीले कोटेसन भरेका थिए तर सरकार दुई महिनासम्म चुप लागेर बस्यो । न ति कोटेसनमा काम गर्यो न छलफल बरु अन्तिम अवस्थामा आएर आफ्नो निकट कम्पनीलाई ठेक्का प्रदान गर्यो त्यो पनि सात गुणा सम्म महँगो मूल्य तिर्न राजी हुँदै ।
स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन मार्फत यस्तो आपतकालीन परिस्थितिमा अत्तिआवश्यक स्वास्थ्य सामाग्रीहरु महँगो मूल्य तिरे पनि कुनै खालको अनियमितता नभएको जनाएको छ । तर जसरी ठेक्का दिइयो, सामान रातारात तयारी अवस्थामा रहुनु र सरकारले आफै नल्याएर व्यापारीसंग मिलिमतोमा ल्याएको हेर्दा नीतिगत भ्रष्टाचार भएको गन्ध पाइन्छ ।
चीन सरकारले सहयोग गर्छौ भन्दा नेपाल सरकारले बेवास्था गरेर व्यापारीसंग मिलेर चर्को मूल्यमा सामान ल्याउँदा सरकार माथि प्रश्न उठ्न थालेको छ ।
चीन सरकारले स्वास्थ्य सामाग्री अनुदानमा उपलब्ध गराउने भन्दा भन्दै किन नेपाल सरकार चुक्यो ? के व्यापारीको फाइदालाई यस्तो संकटकाल अवस्थामा सरकारले कदम चालेको हो ? नीतिगत भ्रष्टाचार भएको भन्दा किन जवाफ दिंदैन स्वास्थ्य मन्त्रालय ?
यस बारेमा स्वास्थ्यमन्त्री भानु भक्त ढकालसंग प्रश्न गर्दा जवाफ दिन जरुरी छैन भन्दै ठाडो जवाफ दिएका छन् ।
मेडिकल उपकरण खरिदमा उठेको प्रश्नको जवाफ दिनुपर्छ भन्ने मैले ठानेको छैन भन्दै मन्त्री ढकालले भने, “काम नगर्दा काम गरेन भन्ने अनि अहिले काम गर्दा अनियमितता गर्यो भन्दै प्रश्न उठाउँदै भ्रम फैलाउन खोजेकाले म यस्तो प्रश्नको जवाफ दिन जरुरी ठान्दिन । म काम गरेर यी प्रश्नको जवाफ दिनेछु र मैले मन्त्रालयका सबै निकायलाई समेत जवाफ दिनु भन्दा काम गरेर देखाउन अपिल गरेको छु ।”