प्रचण्डले चिनियाँ राष्ट्रपति सीलाई पठाए यस्तो पत्र - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

प्रचण्डले चिनियाँ राष्ट्रपति सीलाई पठाए यस्तो पत्र



काठमाडौं- सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई चिठी पठाएका छन् ।

प्रचण्डले पत्र लेख्दै कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको नेपाललाई सहयोग गर्न अपिल गरेका छन् ।

नेकपाको तर्फबाट राष्ट्रपति सीलाई एक विशेष पत्र लेख्दै अध्यक्ष प्रचण्डले सहयोगको अपिल गरेको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।अध्यक्ष प्रचण्डले नेकपाको तर्फबाट १३ चैत २०७६ मा राष्ट्रपति सीलाई एक विशेष पत्र लेखेका हुन् ।

प्रचण्डले कोरोना भाइरसको प्रभाव चीनमा समाप्त भएर जनजीवन सामान्य हुँदै गएकोमा बधाईसमेत दिएका छन् । ‘चीनले कोरोना संक्रमणलाई सफलतापूर्वक नियन्त्रण गरेको मैले मिडियाहरुका समाचारबाट थाहा पाएको छु,’ उनले पत्रमा भनेका छन, ‘कोरोना भाइरससँगको यो लडाइँमा जित हात पारेकोमा म नेकपाका तर्फबाट बधाई दिन्छु ।’

महामारीविरुद्ध जुध्न अत्यावश्यक मेडिकल इक्युपमेन्टलगायत अन्य सामग्रीको जरुरत रहेको बताउँदै चाँडोभन्दा चाँडो आवश्यक सामग्री पठाइदिन अनुरोध गरिएको छ ।

पछिल्लो समयमा विश्वमा संक्रमितको संख्या ६ लाख ७७ हजार ७ सय ५ पुगेको छ भने ३१ हजार ३ सय ३७ ले ज्यान गुमाएको छ ।

धेरै मानिस मृत्यु भएका देशमा इटली, स्पेन, चीन, इरान, फ्रान्स र अमेरिका छन्। दक्षिण एशियामा पाकिस्तान र भारत धेरै प्रभावित भएका छन्।

पाकिस्तानमा १,४०० जनाभन्दा बढीमा सङ्क्रमण देखिएको छ भने ११ जनाको मृत्यु भइसकेको छ। भारतमा ७०० जनाभन्दा बढीमा सङ्क्रमण देखिएको छ र १७ जनाको मृत्यु भएको छ।