देशभरका कार्यकर्तालाई नेकपाको निर्देशन: विदेशबाट आएका व्यक्ति खोजेर क्वारेन्टाइनमा राख - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

देशभरका कार्यकर्तालाई नेकपाको निर्देशन: विदेशबाट आएका व्यक्ति खोजेर क्वारेन्टाइनमा राख



काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी पंक्तिलाई कोरोना भाइरस संक्रमणविरुद्ध सरकारले गरेका निर्णयको पक्षमा जनतालाई सचेत गराउन र सघाउन निर्देशन दिएको छ ।

अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार जारी गरेको विशेष परिपत्रमा कार्यकर्तालाई सम्भव भएसम्म स्वयंसेवी भूमिकामा रहनसमेत सुझाइएको छ ।

कोरोना भाइरसद्वारा सिर्जित विश्व्यापी संकट र राष्ट्रका सम्मुख बढ्दो खतराको घडीमा आपसी एकतालाई बलियो बनाउँदै यसलाई सामना गर्न सहयोगी हात जुटाउनुपर्नेमा संकिर्ण स्वार्थमा अल्झिएर भ्रम फिजाउने प्रयास भइरहेकोतर्फ समेत नेकपाले कार्यकर्तालाई सचेत गराएको छ ।

परिपत्रमा भनिएको छ, ‘सीमित साधन स्रोतका बाबजुद सरकारले गरेका प्रभावकारी कामहरुलाई समेत आलोचना गर्नेजस्ता नकारात्मक प्रवृत्तिहरु कतैबाट पनि प्रकट हुनु वाञ्छनीय हुँदैन ।’

नेकपाले आफ्ना कार्यकर्ताले जो जहाँ छन त्यहि ठाउँमा रहेर लकडाउनमा जनतालाई सघाउने र विदेशबाट आएका व्यक्तिहरुको पहिचान गरि उनीहरुलाई क्वारेन्टाइन र स्वास्थ्य परीक्षणका लागि पेरित गर्न समेत भनेको छ ।

‘हवाईमार्ग वा स्थलमार्गको प्रयोग गरी विदेशबाट आएका कुनै पनि व्यक्तिलाई १४ दिनसम्म सेल्फ आईसोलेशन वा क्वारेन्टाईनमा रहन प्रेरित गर्ने, सघाउने, कोरोना भाईरसको लक्षण देखिएको व्यक्ति वा लक्षण देखिएको व्यक्तिसागको सम्पर्कमा आएको व्यक्तिका बारेमा नजिकको स्वास्थ्य संस्थालाई सूचना दिने । त्यस्ता व्यक्तिको यात्रा अभिलेख र कन्ट्याक्ट ट्रेसिङ तयार गर्ने र राज्यका अधिकार प्राप्त निकाय वा नजिकको स्वास्थ्य संस्थालाई उपलब्ध गराउने। त्यस्ता व्यक्तिको स्वास्थ्य परिक्षण र उपचार कार्यमा सघाउने,’ नेकपाले भनेको छ ।

नेपालमा कोरोना भाईरसको सङ्क्रमण नियन्त्रण गर्न र फैलिन नदिन नेपाल सरकार, सरकारी तथा निजी क्षेत्रका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरु, राज्यका सम्पूर्ण निकायहरु, राजनीतिक दलहरु, सामाजिक जीवनका प्रबुद्ध व्यक्तिहरु र सम्पूर्ण नेपालीले आजैदेखि, अहिल्यैदेखि सचेतना, सतर्कता र नियन्त्रण कार्यमा जुट्न जरुरी रहेको नेकपाको ठम्याइ छ ।