मनकारी व्यवसायी: जसले दिए कोरोना परामर्शको लागि होटल - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

मनकारी व्यवसायी: जसले दिए कोरोना परामर्शको लागि होटल



विशाल पाण्डेय/सुखड,कैलाली
कैलालीका एक होटल व्यवसायीले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणमा परेकाहरुको रोकथाम तथा नियन्त्रण गर्नको लागी सुरक्षा तथा परामर्श केन्द्र संचालनको लागि होटल दिएका छन् ।

जिल्लाको घोडाघोडी नगरपालिका-१ सुखडका व्यवसायी तथा होटेल व्यवसायी महासंघको केन्द्रिय सदस्य भरत भट्टराईले संचालनमा आइरहेको वाशिस्ठ होटललाई परामर्श केन्द्रको लागि घोडाघोडी नगरपालिकालाई नि:शुल्क उपलब्ध गराएका हुन् ।

सुदुर पश्चिम प्रदेश कोरोना भाइरसको सम्भावित जोखिम भएको र घोडाघोडी नगरपालिकाका विभिन्न ठाउँका मानिसहरु भारतको विभिन्न ठाउँबाट आवतजावत गरि आएको हुनाले उक्त जोखिम नहोस र यदि भएपनी त्यस्को रोकथाम तथा नियन्त्रणका लागि आफुले होटल उपलब्ध गराएको संचालक भट्टराईले बताए ।

सोमबार बिहान घोडाघोडी नगरपालिकाको कार्यालयमा नगर प्रमुख ममता प्रसाद चौधरीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले १३ बेडसहितको परामर्श केन्द्र तयार गर्ने निर्णय गरेको हो । यसअघि शनिबार बसेको बैठकले सुखडमै रहेको पुरानो भिजन हस्पिटल भएको भवनमा राख्ने निर्णय गरेपनि वाशिस्ठ होटलले उपलब्ध गराउछु भनेपछि यता तयार गरिएको नगरपालिकाले जनाएको छ ।

कोरोना भाइरस निको पार्नको लागि अहिलेसम्म कुनैपनी औषधिसमेत नपाइएपनी हुन सक्ने सम्भावित जोखिमबाट रोकथाम तथा परामर्शको लागि नगरपालिकाले सुरक्षा तथा परामर्श केन्द्रको स्थापना गरेको घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंहले हिमाल पोस्टलाई जानकारी दिए ।

नगरपालिकामा हुन सक्ने सम्भावित जोखिमबाट रोकथाम तथा नियन्त्रणका लागि कोरोना भाइरसको लक्षण देखापरेका र शंकास्पद मानिसहरुलाई परामर्श दिएर सेती अञ्चल अस्पताल पठाउने नगरपालिकाका स्वास्थ्य शाखा संयोजक कैलाश बहादुर रावतले बताए ।

परामर्शका लागि घोडाघोडी अस्पताल तथा नगरका स्वास्थ्य कर्मचारीहरु परिचालन गरिएको बताउदै घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले नगरमा कोरोना भाइरस निर्मुल पार्नको लागि कुनैपनी स्रोत र साधनहरु नभएकोले कोरोना भाइरसको लक्षण देखापरेका मानिसहरुलाई परामर्श पश्चात् अन्य ठाउँमा पठाउनु पर्ने बाध्यता रहेको बताए । उनले परामर्श केन्द्रको लागी हाल छनौट गरिएको स्थान उपयुक्त एवं पर्याप्त भएको र आवश्यक परे अन्य ठाउँहरु पनि विकल्पको रुपमा रहेको बताए ।

महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नको लागि नगरपालिकाले घोडाघोडी अस्पतालसंग समन्वय गरि जनचेतनामूलक प्रचारप्रसार तथा कोरोना भाइरस बाट सुरक्षित रहनको लागी बढी आवतजावत हुने विभिन्न ठाउँमा हात धुने ट्यान्की र साबुन राखेको छ ।

सरकारले कोरोना संक्रमणलाई नियन्त्रण गर्न मंगलबारदेखि एकसाताको लागि देशैभर लकडाउनसमेत गरेको छ । मंगलबार बिहान ६ बजेदेखि १६ चैत बिहान ६ बजेसम्म सर्वसाधारणलाई घरबाट निस्किन नपाउने आदेश जारी गरिएको छ ।