भारतमा कोरोनाबाट ज्यान गुमाउने आठ जना पुगे - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

भारतमा कोरोनाबाट ज्यान गुमाउने आठ जना पुगे



काठमाडौं- भारतमा कोरोना भाइरस ‘कोभिड–१९’ बाट मृत्यु हुनेको संख्या आठ पुगेको छ।

सोमबारको तथ्यांकअनुसार भारतमा कोरोनाबाट ४ सय २५ संक्रमित बनेका छन्।

विश्वको दोस्रो ठूलो जनसंख्या भारतमा कोरोनाबाट संक्रमितको संख्या दैनिक बढ्दै जाँदा मानिसहरु त्रसित बनेका छन्।

आइतबार कोरोना नियन्त्रणको प्रयास स्वरुप भारतमा ‘जनता कर्फ्यु’ १४ घण्टासम्म लागू गरिएको थियो। उक्त अवधिमा भारत पुरै ठप्प पारिएको थियो। सबैले घरैमा बसेर सरकारको नियम पालना गरे।

जनता कर्फ्यु १४ घण्टासम्म लागू भएपछि नै भारतमा दिल्लीसहितका मुख्य शहरहरुले आगामी मार्च ३१ सम्म शहर ‘लकडाउन’ ठप्प पार्ने भएका छन्।

दिल्ली, मुम्बई, बैंगलोर, पुने, हैदराबाद र कोलकत्ता शहर सोमबार बिहान ६ बजेदेखि मार्च ३१ सम्म ठप्प हुने भारतीय सन्चारमाध्यमले जनाएका छन्। यस्तै गोवाले पनि तीनदिन शहर ठप्प पार्ने बताएको छ।

चीनले शहरहरु ठप्प पारेरै आफ्नो देशमा कोरोना संक्रमण हुन नदिएको भनेर विश्लेषण भइरहँदा भारतका यी मुख्य शहरहरुले सोही उपाय अपनाएका हुन्।

अत्यावश्यक बाहेक सबै बजार, दोकान, उद्योग ती शहरहरुमा ठप्प हुनेछन्। दिल्लीले आफ्नो सिमाना बन्द गरेको छ। त्यहाँको रेल सेवा तथा मेट्रो सेवा बन्दु हुनेछ। ती शहरहरुमा सार्वजनिक यातायात चल्न प्रतिबन्ध लगाइएको छ।