यी हुन् वीरगन्जमा कोरोना भेटिएको हल्ला पिट्ने सांसद र सिडियो

काठमाडौं- कोरोना सङ्क्रमणबारे गलत सूचना सम्प्रेषण नगर्न सरकार र प्रेस काउन्सिलले पटकपटक आग्रह मात्र गरेको छैन हल्ला फैलाउने व्यक्तिलाई कारबाही गर्ने निर्णय पनि गरेको छ।
यस्तो परिस्थितिमा पनि कतिपय जिम्मेवार व्यक्ति र मिडियाले नै अपुष्ट हल्ला फैलाएकैले आइतबार देशभर त्रास फैलियो । केहि मिडियाले वीरगन्जका व्यवसायीलाई कोरोना सङ्क्रमण भएको खबर छापे तर, त्यो खबर त्यहाँका सांसद र सिडियोले नै मिडियालाई दिएका थिए ।
वीरगन्जका ति व्यवसायीलाई कोरोना संक्रमण भएको हल्ला फैलाएपछि उनीहरू आकस्मिक बैठक पनि बसे र व्यवसायीको परिवारलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेका थिए ।
वीरगन्जका व्यवसायी शिवकुमार रुंगटामा कोरोनाको संक्रमण देखिएको भन्दै आइतबार सांसद प्रदीप यादवले सामाजिक सञ्जालमा लेखेका थिए । त्यहाँका सिडिओ विष्णुकुमार कार्की र सहायक सिडिओ ललितकुमार बस्नेतले समेत रुंगटालाई कोरोना पोजेटिभ देखिएको भनेर मिडियालाई प्रतिक्रिया दिए ।
यहि एउटा गल्तीका कारण सिंगो देश आतंकित बन्ने अवस्था बन्यो । खासमा व्यवसायी रुंगटालाई संक्रमण भएको आशंकामा परीक्षण मात्र गरिएको थियो। उनलाई संक्रमण नभएको रिपोर्ट अस्पतालले दिइसकेको छ ।
यसबीचमा पटना अस्पतालले उपचाररत उनमा संक्रमण नभएको रिपोर्ट पठायो र सङ्क्रमण नभएको समाचार छापियो । रुंगटाका आफन्त तथा पूर्वसांसद अनिल रुंगटाले पनि उनलाई सङ्क्रमण नभएको बताएपछि माहोल शान्त बन्यो ।
‘उहाँलाई ज्वरो आएको हो, यस्तो वेलामा ज्वरो आउँदा स्वाभाविक रूपमा कोरोना टेस्ट हुन्छ, तर उहाँको रिपोर्टमा कोरोना नेगेटिभ देखिएको छ,’ उनले भने, ‘पटनास्थित मेडिकल कलेजमा उहाँको उपचार भइरहेको छ।’
सिडिओ कार्की र सहायक सिडिओ ललितकुमार बस्नेतले हल्लाकै भरमा रुंगटामा संक्रमण देखिएको प्रतिक्रिया मात्रै दिएनन्, उनको परिवारका सदस्यलाई क्वारेन्टाइनमा राख्न घरमा सुरक्षाकर्मीसमेत पठाएका थिए।
उनले लेखेका थिए, ‘भारत, बिहार पटनाको पिएमसिएच अस्पतालमा भर्ती भएका वीरगन्जनिवासी ७६ वर्षीय शिवकुमार रंगटाको कोरोना (कोभिड–१९) पुष्टि भएको खबर छ। वीरगन्ज आदर्शनगरका शिवकुमार रंगटा खदान व्यवसायी हुन्।’
तर, आफूले लेखेको खबर गलत साबित भएपछि यादवले स्टाटस मेटेका छन्। यसरी अफवाह फैलाउने सांसद र अधिकारीलाई कारबाही गर्ने दबाब सरकारमाथि परेको छ।

