कोरोना फैलिएको भन्दै भ्रम फैलाउने विरुद्ध प्रहरीको ‘एक्सन’
काठमाडौं- नेपालमा कोरोना संक्रमणको विषयमा अफवाह फैलाइरहेको अडियोका विषयमा प्रहरीले अनुसन्धान थालेको छ।
शनिवार बिहानैदेखि फेसबुकलगायत विभिन्न सामाजिक सञ्जालमा नेपालमा कोरोना भित्रिसकेको, केहीमा संक्रमण भएको र केहीको मृत्यु भएको भन्दै एक अडियोमार्फत् अफवाह फैलिरहेको थियो।
सामाजिक सञ्जालमा नर्भिक अस्पतालमा ९ जनाको परीक्षण गर्दा ६ जनामा कोरोना भाइरस देखिएको भन्दै भ्रामक अडियो प्रसारण भएको थियो। ‘नर्भिकमा पोजेटिभ भेटिएको भन्ने अडियो र अन्य यस्तै भ्रामक कुरा फैलाउनेलाई हामीले ‘मोनिटर’ गरिरहेका छौं,’ नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले भने, ‘सबैलाई हामी कानुनी दायराभित्र ल्याएर कारबाही गर्छौं।’
नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमण भेटिएको छैन। तर सामाजिक सञ्जाल फेसबुक, युट्युबलगायत अन्य विभिन्न साइटमा समाजलाई आतंकित बनाउने कुरा प्रसारण भइरहेका छन्। यस्ता विषयलाई प्रहरीले सूक्ष्म तरिकाले हेरिरहेको थापाले बताए। उनले भने, ‘हामी यस्ता अफवाह फैलाउनेलाई कानुनी कारबाही गर्छौ, अनुसन्धान भइरहेको छ।’
यसैगरी, नर्भिक अस्पतालले विज्ञप्ति जारी गर्दै कोरोना भाइरस पोजेटिभ देखिएको भन्ने खबर झूठो भएको र यसप्रति अस्पतालको घोर आपत्ति रहेको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘हालसम्म नर्भिकमा कोभिड–१९ का कुनै पनि बिरामी भेटिएका छैनन्, यसमा हामी सबै निश्चिन्त र प्रस्ट हुनुपर्छ।’ अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर श्रेष्ठले भनेका छन्, ‘मुलुकमा आइपरेको जटिल र संवेदनशील समस्यामा सबै निकाय एकजुट भई समस्यासँग लड्नुपर्ने आजको अवस्थामा यस्ताखाले भ्रामक समाचारप्रति हामी खेद प्रकट गर्दछौं।’
शनिबर बिहानबाट भाइरल भएको उक्त अडियोमा नर्भिक र त्रिवि शिक्षण अस्पतालमा कोरोना भाइरसको परीक्षण गरिएको भनिएको छ । तर, नेपालमा टेकुस्थित नेपाल जनस्वास्थ्य प्रयोगशालाबाहेक अन्यत्र कोरोनाको परीक्षण हुँदैन।