चैत ९ गतेपछि कुन-कुन सेवा बन्द हुन्छन ?
काठमाडौं- कोरोना भाइरस संक्रमण जोखिम कम गर्न भन्दै सरकारले ९ चैतदेखि देशभरिका सरकारी र निजी क्षेत्रका केही अत्यावश्यक सेवा बाहेक अरु सेवा बन्द गरिदिएको छ।
शुक्रबार देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले केही अत्यावश्यकीय सेवा बाहेकका सेवाहरु बन्द गरिने जनाएका छन् ।
यसबारे सरकारी स्तरबाट कुन–कुन सेवा बन्द गरिने भनेर बुँदागत रुपमा स्पष्ट पार्न बाँकी रहे पनि नेपाल राजपत्रमा निम्न सेवालाई अत्यावश्यक सेवा भनेर जनाइएकाले आगामी ९ चैतदेखि २१ चैतसम्म निम्न सेवा बन्द नहुने बताइन्छ।
बन्द हुने सेवा वा कार्यालय
नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरू आगामी ९ चैतदेखि स्थगित, देशैभर संघ, नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा, आगामी १० चैतदेखि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू, मानिसको भीडभाड हुने स्थान, सिनेमा घर, म्यूजियम, रंगशाला, विद्यालय तथा विश्वविद्यालयका पठन पाठन तथा परीक्षा लगायत बन्द गरिएको छ।
बन्द नहुने अत्यावश्यक सेवाहरू
–टेलिफोन, जल, स्थल तथा हवाई सेवा, –हवाई ग्राउन्ड, रेलवे स्टेशन वा गोदाम, –प्रिन्ट वा सरकारी छापाखानासँग सम्बन्धित सेवा, –हातहतियार, खरखजाना, –सञ्चार सेवा, –आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा, –खानेपानीको सञ्चालन तथा वितरण सेवा रहेका छन् ।
यी सेवाका साथै –पर्यटन, आवास, होटेल रेष्टुरा र रिसोर्ट सम्बन्धी सेवा, –पेट्रोलियम पदार्थको पैठारी ढुवानी र वितरणसम्बन्धी सेवा, –अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा, –औषधि निर्माण तथा बिक्री वितरण सम्बन्धी सेवा, –फोहोरमैलाको सङ्कलन, –ढुवानी, प्रशोधन, विसर्जन सेवा, –ब्यांकिङ सेवा, –बीमा सेवा, –विद्युत सेवा, –दैनिक उपभाग्य वस्तुहरूकाे सेवा, –मौसम सम्बन्धी जानकारी सेवा बन्द हुने छैनन्।