मन्त्री भट्टले भने: ‘लकडाउन’ भए घरघरमै सामान पुग्छ
काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले राज्यमा लक डाउन भएपनि सरकारले जनताको घरघरमा सामान पठाउने ब्यबस्था गरेको बताएका छन्।
उनले दैनिक उपभोग्य सामान र औषधिको मौज्दात पर्याप्त रहेकाले अभाव हुन्छ कि भन्ने डर नपाल्न आग्रह गरेका छन्।
मन्त्री भट्टले ‘लकडाउन’ भइहाले पनि जनतालाई आवश्यक वस्तुको अभाव हुन नदिने गरी सरकारले तयारी गरेको बताएका छन् ।
मन्त्री भट्टले सुरक्षाकर्मी, स्वयंसेवक, पार्टीका कार्यकर्ता खटाएर आवश्यक परे जनताका घर-घरमा आवश्यक सामाग्री पुर्याउने प्रबन्ध मिलाइएको बताए ।
उनका अनुसार देशमा अहिले १० महीनाका लागि पुग्ने खाद्य सामाग्री र ६ महीनाका लागि पुग्ने औषधि छ। उनले केही कठिनाइका बाबजूद पनि आवश्यक सामानहरू सावधानी पूर्वक आयात गर्ने प्रवन्ध मिलाइएको पनि बताए।
उनले राज्यप्रति विश्वास गर्न आग्रह गरेका छन् । आवश्यक पर्यो भने जनताका घर-घरमा पुगेर आवश्यक सामाग्री पुर्याउने तयारी सरकारले गरेको पनि उनले बताएका छन् । राज्य भनेको राज्य हो । जनतालाई भोकै मर्न नदिने पनि उनले बताए ।
उनले कालोबजारी विल्कुलै हुन नदिने भन्दै कसैले त्यस्तो गरेको पाइए सरकारले नियन्त्रणमा लिएर आफ्ना ईकाईमार्फत जनतालाई विक्री वितरण गरिने पनि बताए।