रुघाखोकीका लक्षण देखिएका दुई बालकको मृत्यु
काठमाडौं- रुघाखोकीका जस्तै लक्षणहरु देखिएका दुई बालकको मृत्यु भएको छ।
बाजुराको स्वामिकार्तिक गाँउपालिकाका दुई बालकमा ज्वरो तथा रुघाखोकी देखिएको थियो। स्थानीयका अनुसार दुबै जनालाई अत्याधिक ज्वरो आएपछि मृत्यु भएको बताइएको छ ।
गाँउपालिका २ पुडेनीका चतुरे थापाको ४ महिनाको छोरा र वडा नम्बर १ मुक्तिकोटका भर्बले विकको ५ महिनाको छोराको मृत्यु भएको बताइएको छ ।
उनीहरुमा अत्याधिक ज्वरो आउने खोकी लाग्ने, जस्ता लक्षणहरु देखा परेका थिए। रोगका कारण स्वामीकार्तिक १ को मुक्तिकोट, वडा नम्बर २ को पुडेनी, सुपेना, फयालगाँउ, लौडीमा दर्जनौ बिरामी परेको वडा नम्बर १ का अध्यक्ष जनक बहादुर रोकायाले बताए । रोग एकसाता देखी फैलिएको उनको भनाई छ।
‘रुघाखोकीका जस्तै लक्षणहरु देखा परेका छन्, रोगले वडा नम्बर २ त पुरै प्रभाबित भएको छ’ फयाल गाँउका स्थानीय आनन्द बुढाले भने–‘फयाल गाँउमा मात्र ६० जना भन्दा बढि बिरामी रहेका छन्।’
ज्वरो आउने टाउको दुख्ने, खोकी लाग्ने हातखुट्टा दुख्ने लगायतका लक्षणहरु देखापरेको उनले वताए । गाँउमा सबै बिरामी भएपछि दैनिक जिवनयापन नै अस्तब्यस्त रहेको आनन्द बुढाले बताए।
स्वास्थ्य संस्थामा भने औषधि नभएको बताइएको छ ।

