सुखद खबर: चीनको उहानमा शुन्य भयो सङ्क्रमण - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

सुखद खबर: चीनको उहानमा शुन्य भयो सङ्क्रमण



काठमाडौं- अहिले विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरसको उत्पत्तिस्थल चीनको उहानमा पहिलोपटक एक जनामा पनि नयाँ संक्रमण नभएको पाइएको छ।

चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार उहानमा बुधबार कोरोना भाइरसका एक जना पनि नयाँ संक्रमित नभेटिएका हुन्।

यो संक्रमण फैलिएयता त्यो पनि सुरुवात भएको ठाउँमै संक्रमण वृद्धि शून्यमा झरेको यो पहिलो घटना हो।

चीनको उहानले बुधबार कोरोना भाइरसबाट कोही पनि नयाँ संक्रमित नभएको जानकारी गराएको सिन्ह्वाले जनाएको छ।

चीनले यसलाई कोरोना महामारीविरुद्धको जारी युद्धमा अहिलेसम्मकै ठूलो सफलता ठानेको छ।

गत डिसेम्बर अन्तिम साता चीनकाे हुबेई प्रान्तको उहानमा पहिलोपटक कोरोना भाइरस संक्रमण देखिएको थियो।

तर बुधबार पहिलोपटक उहानमा नयाँ संक्रमण नपाइएको स्थानीय अधिकारीले बताएका छन्।

उहानमा बुधबार कोरोना भाइरसका कारण थप ८ जनाको मृत्यु भएकाे त्यहाँकाे स्वास्थ्य आयाेगले जनाएकाे छ।

आयाेगका अनुसार पुराना बिरामी भए पनि बुधबार नयाँ भने काेही नदेखिएकाे हाे।