अमेरिकामा कोरोना सङ्क्रमणको डरलाग्दो अवस्था - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

अमेरिकामा कोरोना सङ्क्रमणको डरलाग्दो अवस्था



काठमाडौं- कोरोना सङ्क्रमणका कारण विश्व नै आक्रान्त बनेको छ । खासगरी पछिल्लो समय युरोप र अमेरिका जस्ता शक्तिशाली देशहरू यसको ठुलो जोखिममा रहेको देखिएको छ ।

अमेरिकामा डरलाग्दो तरिकाले कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। अमेरिकाका ५० वटै राज्यमा पुगेको कोरोनाको संक्रमण आउने महिनामा झनै तीव्र गतिले फैलिने अनुसन्धानकर्ताहरूले चेतावनी दिएका छन्। साथै फरक-फरक अध्ययनले धेरै मानिसको मृत्यु हुने जनाएका छन्।

यसै अवस्थामा विभिन्न तरिकाले यसको क्षतीको प्रक्षेपण गरिएको छ। कतिपय अध्ययनहरूले डरलाग्दो क्षतीको अनुमान गरेका छन् । न्युयोर्क टाइम्सका अनुसार सरकार र नागरिकले कोरोना भाइरस (कोभिड-१९) विरूद्ध लड्न बलियो सतर्कता अपनाएनन् भने २२ लाख सम्म अमेरिकी नागरिकको मृत्यु हुन सक्ने बेलायती अनुसन्धानकर्ताहरूले जनाएका छन्।

अध्ययन सार्वजनिक हुनुअघि आइतबारसम्म ५० जनाभन्दा धेरै मानिस एकै ठाउँमा जमघट नहुन भनिएको थियो। अमेरिकन सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)ले तोकेको सो संख्यालाई राष्ट्रपति कार्यालय ह्वाइट हाउसले सोमबार १० मा झारिदिएको न्युयोर्क टाइम्सले जनाएको छ।

कोरोनाबाट हुन सक्ने मानवीय क्षतिका सम्बन्धमा अमेरिकामा पनि विभिन्न अध्ययन र प्रक्षेपण भएका छन्।

न्युयोर्क टाइम्सले दिएको जानाकारी अनुसार सिडिसीकै अध्ययनले पनि अमेरिकामा कम्तिमा २ देखि १७ लाखसम्म मानिस मर्न सक्ने प्रक्षेपण गरेको छ।

नेब्रास्का विश्वविद्यालयको एक अध्ययनले ४ लाख ८० हजारसम्म अमेरिकीको कोरोना भाइरसका कारणका मृत्यु हुन सक्ने जनाएको छ।

अहिले तीव्र गतिमा फैलिरहेको कोभिड-१९ अमेरिकामा आउने महिनाहरूमा झनै रफ्तारका साथ फैलिन सक्नेछ। जुनको मध्यदेखि मात्र यसको संक्रमणमा कमी आउने अनुसन्धाकर्ताले जनाएका छन्।

कोरोना भाइरसको विस्तारलाई कम गर्न सार्वजनिक यातायात कम गर्ने, विद्यालय, सिनेमा हल, रेष्टुरा बन्द गर्ने, सार्वजनिक जमघटलाई दुरूत्साहित गर्नेलगायतका उपाय अपनाउन सुझाइएको छ।