जथाभावी माछापालनले ताल संकटमा - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

जथाभावी माछापालनले ताल संकटमा



विशाल पाण्डेय/कैलाली
विश्व सिमसार क्षेत्रमा सुचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रको जलाधार ब्यवस्थापन सम्बन्धी छलफल गरिएको छ ।

बृहत घोडाघोडी पर्यटन बिकास बोर्डको आयोजनामा मंगलबार सुखडमा भएको छलफल कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, स्थानीयवासी तथा सरोकारवालाको सहभागिता रहेको थियो ।

सहभागीहरुले घोडाघोडी ताल क्षेत्रका तालहरु ठेक्का पट्टामा गएकोले ताल सुक्दै गएको बताए । नगरपालिकामा भएका ताल तलैयाहरु आफ्नो मातहतमा लिएर माछापालनका लागी ठेक्कामा दिएपछि ठेकदारले माछा मार्नको लागि मनोमानी तरिकाले पानी फाल्ने हुँदा तालको पानी सकिएर ताल संकटमा पर्दै गएको सामुदायिक वन उपभोक्ता महासंघकि नगर स्तरीय अध्यक्ष मैना ढकालले बताइन् ।

नगरपालिकाले आफ्नो मातहतमा लिएर सुचना प्रकाशन गरि जथाभावी माछापालनको लागि ताल ठेक्कामा दिएपछि स्थानीयहरुले ताल संरक्षण गर्न छोडेको भन्दै अर्का सहभागीले ठेक्का प्रक्रिया तोडि नगरपालिकाले नीति नियम बनाएर स्थानीय सामुदायिक बनहरुलाई तालको संरक्षण र पर्यटकीय दृष्टिकोणले ब्यवस्थापन गर्न दिनुपर्ने बताएका छन् ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सह- प्राध्यापक डा. प्रेम बहादुर बुढाले घोडाघोडी ताल क्षेत्रको जलाधारको बर्तमान अवस्था, संरक्षण र उचित ब्यवस्थापनका उपायहरु तथा स्थानीयवासीको भुमिकाको बारेमा सहजिकरण गरेका थिए ।

बुढाले घोडाघोडी ताल क्षेत्रको जलाधार ब्यवस्थापनका लागि चुरे तथा बेतिनी क्षेत्रको संरक्षण , बृक्षारोपण , जथाभावि हुने प्राकृतिक दोहन तथा बैज्ञानिक वन ब्यवस्थापलाई रोक्नु पर्ने तथा तालहरुलाई पानीको मुहान संग जोड्नुपर्ने लगायतको बिषयमा सहभागीहरुलाई जानकारी दिएका थिए ।

बृहत् घोडाघोडी ताल तथा पर्यटन बोर्डका उपाध्यक्ष दयाराम चौधरीले घोडाघोडी ताल क्षेत्रको गुरु योजनाको खाका प्रस्तुत गरि सहभागिहरुसंग सुझाव लिएका थिए ।

घोडाघोडी ताल क्षेत्रमा करिब २४ वटा तालहरु रहेको र यस मध्य करिब ५ वटा तालहरु पूर्ण रुपमा सुकिसकेको एक तथ्यांकले जनाएको छ । घोडाघोडी नगरपालिका भरी करिब ६२ वटा तालहरु रहेका छन् । जसमध्य करिब ५७ वटा तालमा नगरपालिकाले माछापालनका लागी ठेक्का दिएको छ ।