विद्यार्थी भर्ना नगर्न विद्यालयहरुलाई सरकारको निर्देशन - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

विद्यार्थी भर्ना नगर्न विद्यालयहरुलाई सरकारको निर्देशन



काठमाडौँ- सरकारले आगामी शैक्षिक सत्रका लागि तत्काल भर्ना नलिन विद्यालयहरुलाई निर्देशन दिएको छ।

कोरोना भाइरसको विश्वव्यापी महामारीका बीच विधालयहरुले नयाँ भर्नाका लागि विज्ञापन खुलाइरहेका बेला सरकारले त्यस्तो निर्देशन दिएको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार अपिल गर्दै जारी परीक्षा सकिएलगत्तै भर्ना सुरु नगर्न भनेको छ। विद्यालयहरुले फाइनल परीक्षा सकिएलगत्तै नयाँ भर्ना लिने चलन छ।

कोरोनाको संक्रमण नियन्त्रण गर्न चैत महिनाभरि विद्यार्थीहरुलाई घरमै राख्ने तयारी सरकारको छ।

कोरोना त्रासकै बीच सरकारले चैत ५ गतेभित्र ९ कक्षासम्मको परीक्षा सक्न विधालयलाई निर्देशन दिएको थियो। माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ६ गतेबाट सुरु भएर १७ गते सकिने छ।

‘विश्वव्यापी फैलिँदै गएको कोरोना भाइरसको संत्रासका कारण आवश्यक सतर्कता अपनाउन चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्म परीक्षा सञ्‍चालन गरिसक्न अनुरोध गरिएको थियो,’ मन्त्री गिरिराजमणि पोखरेलले मंगलबार अपिलपत्र जारी गर्दै भनेका छन्, ‘यो परीक्षा समाप्त भएपछि अर्को शैक्षिक सत्र सुरु नहुन्जेलसम्म करिब तीन हप्ता देशभरका करिब ७० लाख विद्यालय जाने उमेरका बाललिकाहरु घर परिवारमा नै रहने छन्।

बालबालिकालाई घर बाहिर नजान, विद्यालयमा सांस्कृतिक कार्यक्रम, अभिभावक दिवस, नतिजा सार्वजनिकीकरण, प्रवेश परीक्षा वा भर्नाको नाममा भीडभाड वा आम भेला नगर्न सबैमा अनुरोध छ।’