कोरोना भाइरसको प्रभाव चीनमा समाप्त भएको दाबी - Himal Post Himal Post
  • १३ मंसिर २०८१, बिहीबार
  •      Thu Nov 28 2024
Logo

कोरोना भाइरसको प्रभाव चीनमा समाप्त भएको दाबी



एजेन्सी- चीनले आफ्ना देशका कोरोना भाइरस (कोभिड–१९) को प्रभाव समाप्त भएको जनाएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार कोरोनाको प्रभाव समाप्त भएको जानकारी दिएको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनालाई महामारी घोषणा गरेकै भोलिपल्ट चीनले आफ्नो देशमा कोरोनको प्रभाव समाप्त भएको घोषणा गरेको हो ।

केही दिन अगाडि मात्र चीनका राष्ट्रपति सी चिनफिङ कोरोनाको उद्गमस्थल हुपेइको वुहान शहर पुगेर कोरोनाको अवस्था र प्रभावबारे स्थानीयसँग जानकारी लिएका थिए ।

चीनमा कोरोनाले संक्रमित र मृतकको संख्या घट्दै जाँदा सी वुहान पुगेका थिए । उनले वुहानमा पुगेर हुपेइ र वुहानमा कोरोना नियन्त्रणमा आइसकेको बताएका थिए ।

पछिल्लो समय चीनमा कोरोनाको प्रभाव कम हुँदै गएको छ । चीनमा हालसम्म ८० हजार ७९६ संक्रमित भेटिएका छन् । त्यहाँ तीन हजार १६९ को मृत्यु भएको छ भने ६२ हजार ८०९ उपचारपछि स्वस्थ्य बनेका छन् । गएको २४ घण्टामा चीनमा ११ को मृत्यु हुँदा १८ संक्रमित थपिए । यो दर अन्य देशको भन्दा न्युन हो ।

कोरोना भाइरस ‘कोभिड–१९’ का कारण बिहीबारसम्म विश्वभर ४ हजार ६३६ जनाको मृत्यु भइसकेको छ । दैनिक कोरोना संक्रमित बढ्दै जाँदा मृतकको संख्या बढ्दै गएको हो । हालसम्म एक लाख २६ हजार ४८३ जना कोरोनाबाट संक्रमित छन् ।

चीनको सिनजियाङमा रेलसेवा शुरु, जनजीवन सामान्य
चीनको उत्तर–पश्चिम सिनजियाङ उइगुर स्वायत्त क्षेत्रमा रेलसेवा पुनः शुरु भएको छ । चीनको हुबे प्रान्तमा कोरोना भाइरसको सङ्क्रमण फैलिएसँग देशका कतिपय भागमा रेल तथा अन्य यातायात सेवा बन्द गरिएका थिए ।

सिनजियाङको राजधानी उरुम्की र सिनजियाङकै हमी, तुर्पान र होर्गोस जोड्ने तीब्र गतिको बुलेट ट्रेनको सेवा बुधबारदेखि शुरु भएको रेल अधिकारीहरुले बताएका छन् । चाइना रेलवेका अनुसार अरु कम गतिका रेलहरुको सेवा पनि चाँडै शुरु हुनेछ ।

सिनजियाङ रेलवे अधिकारीहरुले यात्रुहरुले अनलाइन वा रेलवे स्टेशनमै आएर टिकट किन्न सक्ने बताएका छन् । सिनजियाङका उद्योग धन्दा सबै पूर्ण क्षमतामा सञ्चालन हुन थालेका छन् भने मानिसको दैनिक जीवन सहज भएको छ । सिनजियाङमा लगातार २३ दिनसम्म कोरोना भाइरसका एक जना पनि रोगी फेला परेका छैनन् ।

स्थानीय सरकारले कोरोना भाइरसको सङ्क्रमण सिनजियाङमा देखा नपरेको भन्दै आपतकालीन स्थितिलाई हटाएको छ ।

यी हुन् कोरोनाबाट बढी प्रभावित देश

१) चीन– ८० हजार ७९६ संक्रमित, ३ हजार १६९ को मृत्यु, ६२ हजार ८०९ उपचारपछि स्वस्थ्य ।
२) इरान– ९ हजार संक्रमित, ३५४ को मृत्यु, २ हजार ९५९ उपचारपछि स्वस्थ ।
३) दक्षिण कोरिया–७ हजार ८६९ संक्रमित, ६६ को मृत्यु, ३३३ उपचारपछि स्वस्थ ।
४) फ्रान्स– २ हजार २८१ संक्रमित, ४८ को मृत्यु, १२ उपचारपछि स्वस्थ ।

५) स्पेन–२ हजार २७७ संक्रमित, ५५ को मृत्यु, १८३ उपचारपछि स्वस्थ ।
६) जर्मनीः १ हजार ९६६ संक्रमित, ३ को मृत्यु, २५ उपचारपछि स्वस्थ ।
८) अमेरिका– १ हजार ३३६ संक्रमित, ३८ को मृत्यु, १५ उपचारपछि स्वस्थ