टर्कीको संसद बन्यो रणमैदान: सांसदहरुबीच कुटाकुट
एजेन्सी- प्रतिपक्षी दलका एक सांसदले टर्कीका राष्ट्रपति रेसेप तायीप एर्डोगानको आलोचना गरेपछि टर्कीको संसदमै बुधबार सांसदहरुबीच कुटाकुट भएको छ ।
एर्डोगानले सिरियामा मारिएका टर्कीका सैनिकको अपमान गरेको भन्दै ती सांसदले आलोचना गरेका थिए ।
त्यसपछि सुरु भएको झगडामा एक दर्जनभन्दा बढी सांसदहरु संलग्न भएका थिए ।
जारी भएको भिडियो फुटेजमा सांसदहरु टेबलको माथि चढेर एकअर्कामाथि मुक्का बर्साइरहेको देखिन्छ । झडपका क्रममा केही सांसद भुइँमा नै लड्न पुगेका थिए ।
प्रतिपक्षी दल रिपब्लिकन पिपल्स पार्टी (सीएचपी) का सांसद एन्जिन ओज्ककले गत हप्ता सिरियाको इडलिबमा मारिएका टर्कीका सैनिकको राष्ट्रपतिले अपमान गरेको बताएका थिए । ओज्ककले एर्डोगानलाई ‘बेइमान, अज्ञानी, नीच र विश्वासघाती’ भनेका थिए ।
उनले राष्ट्रपतिमाथि टर्कीका जनताका छोराछोरीलाई युद्धमा भाग लिन बाध्य बनाएको र आफ्नो सन्तानलाई सैन्य सेवाबाट बचाएको पनि आरोप लगाए ।
यसअघि, एर्डोगानले सिरियामा टर्की सेनाको सहभागितालाई लिएर विपक्षी दलले प्रश्न उठाएको भन्दै त्यसको आलोचना गरेका थिए ।
सिरियामा गरिएको पछिल्लो सैन्य कारवाहीमा टर्कीका ५९ सेनाले ज्यान गुमाइसकेका छन् ।