भारतको वायु विश्वमै बढी प्रदुषित, नेपालमा सुधार हुँदै
काठमाडौं- वायुको गुणस्तरमा पोहोरका तुलनामा यो वर्ष सुधार आएको छ । अघिल्लो वर्ष आँखाले देख्न नसकिने धूलोको कण (पीएम २.५) को मात्रा प्रतिघनमिटर हावामा सरदर ५४.४ माइक्रोग्राम रहेकामा अहिले ४४.५ माइक्रोग्राममा झरेको छ ।
यो सरकारले तोकेको मापदण्डभन्दा ४.५ माइक्रोग्रामले बढी हो । सरकारले प्रतिघनमिटर हावामा पीएम २.५ को मात्रा ४० माइक्रोग्राम तोकेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भने २५ माइक्रोग्राम (प्रति २४ घण्टा) तोकेको छ । उसले विश्वभर त्यस्तो धूलोका कण १० माइक्रोग्राममा झार्नेर् लक्ष्य राखेको कान्तिपुर दैनिकले समाचार छापेको छ ।
डब्लूएचओका अनुसार कुनै स्थानमा पीएम २.५ को मात्रा ४४.४६ माइक्रोग्राम छ भने त्यो संवेदनशील किसिमका व्यक्ति र समूहका लागि अस्वस्थ मानिन्छ । वातावरण विभागले सन् २०१७ मा गरेको अध्ययनले जाडो महिनामा काठमाडौंमा पीएम २.५ को मात्रा १८० माइक्रोग्रामसम्म पुगेको देखाएको थियो ।
घरभित्र र बाहिरको वायु प्रदूषणका कारण बर्सेनि विश्वमा ७० लाख मानिसको ज्यान जाने गरेको तथ्यांक छ । वायु प्रदूषणका कारण स्ट्रोक, मुटुसम्बन्धी रोग, फोक्सोको क्यान्सरजस्ता रोगको सम्भावना हुन्छ । विश्वको जनसंख्याको ९२.५ प्रतिशतभन्दा बढी मानिस हावामा डब्लूएचओले तोकेको मापदण्डभन्दा बढी पीएम २.५ रहेको स्थानमा बस्छन् ।
आईक्यू एअरको शनिबार प्रकाशित ‘विश्वको वायुको गुणस्तरसम्बन्धी प्रतिवेदन’ मा काठमाडौं उपत्यका १३७ औं स्थानमा छ । स्विट्जरल्यान्डमा मुख्यालय भएको ‘आईक्यू एअर’ सन् १९६३ मा स्थापना भएको अमेरिकी कम्पनी हो ।
यसले हरेक वर्ष विश्वका प्रदूषित सहरका बारेमा प्रतिवेदन सार्वजनिक गर्छ । यसले सन् २००० देखि वायुको गुणस्तरसम्बन्धी अध्ययन अनुसन्धान गर्न थालेको हो । सन् २०१७ देखि यसले विश्वका सहरको प्रदूषण मनिटरिङ विश्लेषण गर्दै आएको छ ।
आईक्यू एअरको गत वर्षको प्रतिवेदनअनुसार काठमाडौं प्रदूषित सहरको सूचीको १०० औं नम्बरमा थियो । यो वर्ष ९८ देश र त्यसभित्रका सहरको तथा गत वर्ष ७३ देश र सहरी क्षेत्रको वायुको गुणस्तर विश्लेषण गरी प्रतिवेदन सार्वजनिक गरिएको थियो ।
क्षेत्रीय (वर्ल्ड रिजनल सिटिज) राजधानीको वरीयता मानकका हिसाबले पनि काठमाडौंको वायुको गुणस्तर एक स्थान माथि उक्लिएको छ । सन् २०१८ मा सातौं स्थानमा रहेको काठमाडौं सन् २०१९ मा छैटौं स्थानमा उक्लिएको हो ।वातावरणविद् भूषण तुलाधरले सन् २०१९ मा वायु प्रदूषणको मात्रा दुई वर्षअघिजस्तो उकालो नलागेको बताए ।
‘प्रदूषणको मात्रा रोकिएको देखिन्छ,’ उनले कान्तिपुरसँग भने, ‘तर यसलाई भयंकर उपलब्धि भन्नचाहिँ मिल्दैन ।’ वायु प्रदूषण मापन केन्द्रले दिने परिणामलाई विश्लेषण गरेर विश्वभरको वायुको गुणस्तर विश्लेषण गर्ने गरिएको छ ।
संरचनाको काममा नियन्त्रण, पक्की सडक विस्तार, जथाभावी सडक खन्न रोक, औद्योगिक प्रदूषणमा नियमनलगायत कारणले प्रदूषण घटेको वातावरण विभागको दाबी छ । सरकारले प्रदूषण नियन्त्रणका लागि हालै ‘काठमाडौं उपत्यकाको वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २०७६’ स्वीकृत गरेको छ । कार्ययोजनामा प्रदूषण रोक्न विद्युतीय सवारीसाधनको आयातमा पूर्ण भन्सार छुटका साथै थुप्रै कार्यक्रम प्रस्ताव गरिएको छ ।
वातावरण विभागका सूचना अधिकारी शंकर पौडेलका अनुसार नेपालमा वायुको गुणस्तर मापन गर्न २१ वटा स्टेसन छन् । काठमाडौंमा ७, पोखरामा ३, लुम्बिनी, सौराहा, दाङ, नेपालगन्ज, सिमरा, सुनसरीको झुम्का, धनकुटा र दमकमा एक–एकवटा स्टेसन छन् ।
अमेरिकी दूतावासले कान्तिपथ र दूतावास क्षेत्रमा स्टेसन खडा गरी पीएम २.५ को मात्रा मापन गर्दै आएको छ । सन् २०१९ मा विश्वका ३ हजार २ सय ४९ वटा सहरको वायुको गुणस्तर विश्लेषण गरी प्रदूषित सहरहरूको नाम सूचीकृत गरिएको छ ।
यो सूचीमा भारत, पाकिस्तान र चीनका धेरै सहरको वायुको गुणस्तर खराब देखिन्छन् । यो विश्लेषणअनुसार अमेरिकाको ऐलेन पार्कको वायुको गुणस्तर सबैभन्दा राम्रो पाइएको छ । ९८ वटा प्रदूषित देशको सूचीमध्ये नेपाल आठौं स्थानमा छ । भारत, बंगलादेश, पाकिस्तान, अफगानिस्तान, मंगोलिया, इन्डोनेसिया र बहराइनको वायुको गुणस्तर नेपालको भन्दा खराब पाइएको छ ।
मुख्य सहरहरूको वायुको गुणस्तर वार्षिक तुलना गर्दा पनि काठमाडौं अघिल्ला वर्षभन्दा माथि उक्लिएको छ । सबै महादेशका ९५ वटा सहरको वायुको गुणस्तर तुलना गर्दा काठमाडौं २२ औं स्थानमा छ । अमेरिकाको सेटलको वायुको गुणस्तर स्वच्छ अर्थात् पीएम २.५ को मात्रा १ माइक्रोग्राम देखिएको छ । डब्लूएचओले ०–१२ माइक्रोग्रामसम्मलाई राम्रो मान्ने गरेको छ ।
पाकिस्तानको कराँची, भारतको मुम्बई, मंगोलियाको उलानबाटर, थाइल्यान्डको छियाङ माई, चीनको बेइजिङ, बंगलादेशको ढाका, म्यानमारको याङ्गुन, भारतको दिल्ली, किर्गिस्तानको बिस्केक र इरानको तेहरान वायु प्रदूषणका हिसाबले टप टेनभित्र परेका छन् ।