ट्रम्पले पाए उन्मुक्ति - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

ट्रम्पले पाए उन्मुक्ति



काठमाडौं- अन्ततः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाभियोगबाट उन्मुक्ति पाएका छन्।

ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत रहेको माथिल्लो सदन सिनेटमा भएको मतदानबाट उनले राष्ट्रपति पदबाट हट्न नपर्नेगरी सफाइ पाएका हुन्।

बीबीसीका अनुसार बुधबार भएको मतदानबाट उनीविरुद्धकाे महाभियोग खारेज भएकाे हाे।

अब उनी आउँदो नोभेम्बरमा हुने चुनावमा महाभियोग सामना गरेर जाने पहिलो अमेरिकी राष्ट्रपति हुनेछन्।

शक्तिको दुरूपयोग गरिएको भन्ने अभियोगमा ट्रम्पका पक्षमा ५२-४८ मत परेको थियो भने अमेरिकी संसद् कंग्रेसलाई अवरुद्ध तुल्याएको अभियोगमा उनले आफ्नो पक्षमा ५३-४७ मत पाएका थिए।

बुधवारको ऐतिहासिक मतदानमा सिनेटले युक्रेनसँगको ट्रम्पको लेनदेन र संवादका बिषयसँग जोडिएका अभियोगबाट छुटकारा दिएको हो।

डेमोक्र्याटहरूको बहुमत रहेको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले भने गत १८ डिसेम्बरमा महाभियोग पारित गरेको थियो।

ट्रम्पसमेत गरेर अमेरिकामा अहिलेसम्म तीन राष्ट्रपतिले महाभियोग सामना गरेका छन्।

यसअघि सन् १८६८ मा राष्ट्रपति एन्ड्रिउ जनसन र सन् १९९८ मा बिल क्लिन्टनविरुद्ध महाभियाेग लागेकाे थियाे।

तर महाभियाेग सिनेटले खारेज गरिदिएको थियो।