कोरोनाको महामारी छैन: डब्लुएचओ
एजेन्सी- हङकङमा कोरोना भाइरसबाट एक जनानको मृत्यु भएसँगै चीनमा मृत्यु हुनेको संख्या ४२५ पुगेको छ । चीनको वुहानबाट फर्किलगत्तै ती व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ ।
चीन बाहिर कोरोना भाइरसका कारण मृत्यु भएको यो दोस्रो घटना हो । यसअघि आइतबार फिलिपिन्समा एक जनाको मृत्यु भएको थियो । यसैबीच चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पछिल्लो समय ६४ जनाको मृत्यु भएको नयाँ आँकडा सार्वजनिक गरेको छ ।
वुहानमा मात्र करिव २० हजार पाँच सय जना प्रभावित भएको बताइएको छ । यसअघि सोमबार बसेको पोलिटव्यूरो स्थायी समितिले प्रकोप नियन्त्रणमा भएको कमजोरी सुधार गर्ने निर्णय भएको थियो ।
विश्वका विभिन्न मुलुकहरुले आफ्ना नागरिक चीनबाट फिर्ता बोलाउन थालेका छन् । तर चीन सरकारले कोरोना प्रभावित शहरहरुमा यात्रा गर्न प्रतिवन्ध लगाएको बताइएको छ ।
यता, विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसले विश्वभरी महामारीको रूप नलिएको जनाएको छ । डब्लुएचओले संक्रमणको माहामारीको अवस्थामा नभएपनि जोखिमको बहुकेन्द्रित चरणमा रहेको स्पष्ट पारेको छ ।
विश्वका करिब दुई दर्जन मुलुकमा संक्रमण फैलिएपनि महामारीको रूपमा नरहेको डब्लुएचओको दावी छ ।