प्रधानमन्त्रीलाई नेताहरूको प्रश्न- ‘तपाईंसँग जनता किन रुष्ट छन्?’ - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

प्रधानमन्त्रीलाई नेताहरूको प्रश्न- ‘तपाईंसँग जनता किन रुष्ट छन्?’



काठमाडौं- नेकपाको केन्द्रीय कमिटी बैठकमा बुधबार उद्घाटन मन्तव्य दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली खुसी हुने दर बढेको सुनाए ।

उनले भने, ‘खुसीको सूचकांक तीन तह माथि उठेको छ।’ ओलीको भनाइको आसय हो– सरकारले गरेका असाधारण प्रगतिका कारण जनता खुसी छन्।

प्रधानमन्त्री ओलीले आधिकारिक रूपमा यो घोषणा गरिरहँदा आफैंले बेचेको उखुको मूल्य नपाएका किसानको खुसी भने फर्किएको छैन । काठमाडौं आई आन्दोलन गरेपछि माघ ७ सम्म सबै भुक्तानी पाउने आश्वासन पाएर घर फर्किएका किसानले त्यस समयभित्र १६ प्रतिशत मात्रै भुक्तानी पाए ।

प्रधानमन्त्रीको तथ्यांक र नागरिकको भोगाइबीच तालमेल नदेखेरै केन्द्रीय सदस्य गणेश साहले बिहीबार सुरु भएको समूहगत छलफलमा सोधे, ‘सर्लाहीका किसानको आँसु पुछ्ने कसले हो ?’

प्रधानमन्त्री ओलीले केन्द्रीय सदस्यका अघिल्तिर प्रगति विवरणको तथ्यांक पेस गरेका थिए । उनका अनुसार निर्वाचनपछिका दुई वर्षमा सरकारले आर्थिक विकासको सूचकांकमा उल्लेख्य फड्को मारेको छ ।

‘विश्व भोकमरीको सूचकांकमा नेपालको स्थिति सुध्रिएको छ र ७३ औं स्थानमा पुगेको छ । शान्ति सुव्यवस्थासम्बन्धी ग्लोबल पिस इन्डेक्समा नेपालले यस वर्ष १२ बिन्दुले सुधार गरेको छ,’ ओलीले भनेका थिए ।

प्रधानमन्त्रीले प्रस्तुत गरेको सूचकांकले देखाएजस्तै देशमा गरिबी र भोकमरी हटेकै हो त ? ‘होइन,’ देशैभरिबाट काठमाडौं आएका अधिकतर केन्द्रीय सदस्य भन्छन्, ‘आधारभूत तहका नागरिकको दुःख र गरिबी उस्तै छ।’

केन्द्रीय सदस्य झपट रावलले दूरदराजका जनतासम्म सरकारको नजरै नपुगेको बताए । ‘बरु केन्द्रदेखि स्थानीय तहसम्मका जनप्रतिनिधि जनताबाट अलग भएका छन्,’ उनले थपे, ‘जनप्रतिनिधि भएपछि उनीहरूले धरातल छाडेका छन्, जनतासँग नजिक नहुँदा दुःख देख्नै सकिन्न।’

ओलीले भ्रष्टाचार नियन्त्रणमा नेपाल ११ स्थान र विधिको शासनमा २ स्थान माथि उक्लिएको भन्दै प्रस्तुत गरेको तथ्यमा पनि धेरै केन्द्रीय सदस्यको मन बुझेको छैन । प्रधानमन्त्रीले सुनाएको प्रगति विवरणबारे प्रतिक्रिया उनकै उपस्थितिमा दिन नपाएकामा नेताहरू रुष्ट भएका थिए ।

उनीहरूले प्रधानमन्त्रीले तथ्यमा प्रगतिको विवरण सुनाए पनि जनता आफूप्रति किन रुष्ट छन् भन्ने कुरा बुझ्नै नचाहेको टिप्पणी समूहगत छलफलमा गरे । यो खबर आजको कान्तिपुर दैनिकमा बिनु सुवेदीले लेखेकी छन्।

‘सरकार जनतासँग यति धेरै घनिष्ठ भएर काम गर्दा पनि आम जनताको आक्रोशको सिकार किन भइरहेको छ ?’ केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले प्रश्न गरे ।

विश्वास प्रतिस्पर्धासम्बन्धी सूचकमा सरकार एक १ स्थान माथि उठेको प्रधामन्त्रीको भनाइमा केन्द्रीय नेताहरू विश्वस्त हुनै सकेनन् ।

‘एकातिर प्रधानमन्त्रीज्यूको त्यस्तो दाबी छ, अर्कातिर पार्टीमा अविश्वासको वातावरण बढ्दै गइरहेको राजनीतिक प्रतिवेदन कार्यकारी अध्यक्षबाट आउँछ,’ एक केन्द्रीय सदस्यले भने, ‘दुई अध्यक्षको फरक फरक कुरामा यहीँ त विश्वास गर्न सकिएन, देशमा विश्वासको वातावरण बन्यो होला भनेर कसरी पत्याउने ?’

बुधबार करिब २ घण्टा भाषण गरेका प्रधानमन्त्री ओलीले एक घण्टाजति यी दुई वर्षमा सरकारले गरेका कामको फेहरिस्त सुनाएका थिए ।