कोरोना विरुद्ध लड्न ज्याक माले दिए डेढ करोड डलर सहयोग - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

कोरोना विरुद्ध लड्न ज्याक माले दिए डेढ करोड डलर सहयोग



एजेन्सी- चीनकै सबैभन्दा धनी व्यवसायी तथा अलिबाबा कम्पनीका संस्थापक ज्याक माले चीनमा फैलिएको कोरोनाभाइरसको महामारी रोक्नका लागि करिब डेढ करोड अमेरिकी डलर सहयोग गरेका छन्।

अन्तर्राष्ट्रिय मिडियाहरुका अनुसार माले आफ्नो फाउन्डेसनको माध्यमबाट १ करोड ४४ लाख अमेरिकी डलर कोरोना भाइरसविरुद्ध लड्ने खोप पत्ता लगाउन सहयोग गरेका हुन्।

माको फाउन्डेसनले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएको हो। उनले ५८ लाख डलर दुईवटा चीन सरकारको अनुसन्धान संस्थालाई दिएका छन्। बाँकी रकम भाइरस रोकथाम र उपचारमा खर्च हुने बताइएको छ।

अलिबाबाले गत शनिबार नै सहयोगको घोषणा गरेको थियो। घोषणामा १ अर्ब चिनियाँ युआन अर्थात् १४ करोड अमेरिकी डलरको कोष स्थापना गर्ने र यसमार्फत वुहान र हुवेई प्रान्तका लागि औषधिजन्य आपूर्ति खरिद गर्ने बताइएको थियो।

कम्पनीले निःशुल्क आर्टिफिसियल इन्टेलिजेन्स कम्प्युटिङ पावर वैज्ञानिक अनुसन्धान संस्थाहरुलाई उपलब्ध गराउने प्रतिबद्धता समेत जनाइसकेको छ। उक्त संस्थाहरुले भाइरस रोकथामको खोप तथा उपचार विधि पत्ता लगाउनेछ।

चिनियाँ डेलीका अनुसार भाइरसको उपचारमा सघाउने अलिबाबा चिनियाँ प्रविधि कम्पनीहरुमध्ये मुख्य रहेको छ। हुवावे, टेन्सेन्ट, बैदू, टिकटक, मेतुआन डियानपिंगलगायत अन्य कम्पनीहरु पनि चीनका चर्चित कम्पनीहरु हुन्।

त्यस्तै अमेरिका र चीनका वैज्ञानिकहरु समेत हाल कोरोनाविरुद्धको खोप पत्ता लगाउन जुटेको बताइएको छ।

तर खोप पत्ता लाग्न १ वर्षसम्म समय लाग्नसक्नेछ। भाइरसका कारण हालसम्म १ सय ७० जनाको मृत्यु भइसकेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ। विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ हजार नाघिसकेको छ।