'महाठग महाराज'को शरणमा उपराष्ट्रपति पुन: यस्तो छ नालीबेली - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

‘महाठग महाराज’को शरणमा उपराष्ट्रपति पुन: यस्तो छ नालीबेली



काठमाडौं- उपराष्ट्र्रपति नन्दबहादुर पुन शुक्रबार करिब १२ बजे भरतपुर विमानस्थलमा उत्रिए। त्यहाँ उनलाई खादा र फूलमालासहित स्वागत गर्न अग्रपंक्तिमा थिए, आफूलाई स्वामी बालयोगेश्वर महाराज बताउने गेरुवस्त्रधारी- विजय भण्डारी।

उपराष्ट्रपति शनिबारदेखि नारायणी नदी किनारमा हुने ‘१०८ कुण्डीय कोटीहोम शैक्षिक, धार्मिक तथा सांस्कृतिक तुलादान माघीमेला महामहोत्सव एवं संगीतमय लीलामय अष्टोत्तरशत श्रीमद्भागवत धनधान्याचल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञ’को उद्घाटन गर्न चितवन पुगेका हुन्।

भरतपुर विमानस्थलमा शुक्रबार उत्रेका उपराष्ट्रपति नन्दबहादुर पुन र उनको स्वागतार्थ आएका बालयोगेश्वर महाराज भनिने विजय भण्डारी। भण्डारीको नेतृत्वमा नारायणी नदी किनारमा शनिबारदेखि हुने कोटीहोम यज्ञमा प्रमुख अतिथि हुन उपराष्ट्रपति चितवन आइपुगेका हुन्।

आफूलाई ‘बालयोगेश्वर महाराज’ बताउने भण्डारीले धार्मिक आवरणमा आफ्नो ठगी र जालझेलको विगत लुकाउँदै आएको कान्तिपुरले फेला पारेको छ। कान्तिपुरकै सहप्रकाशन नेपाल सप्ताहिकले विजयको ठगी धन्दाबारे ‘महाठग महाराज’ शीर्षकमा २४ भदौ २०६९ मा खोज समाचार प्रकाशन गरेको थियो। त्यसताका उनले आफूलाई सार्वजनिक वृत्तमा श्री विष्णु प्रपन्नाचार्यजी महाराजको नाममा चिनाउँदै आएका थिए।

२०६८ भदौ दोस्रो साता नवलपरासी घर भई बनारसस्थित सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयका विद्यार्थी केशव भुसाल, गोकुल खनाल, बनारसस्थित मंगलागौरी संस्कृत महाविद्यालयमा पढ्ने गोविन्द आचार्यलगायत कैयन् उनलाई खोज्दै काठमाडौं आएका थिए।

त्यतिबेला नेपालका चर्चित गुरु भन्दै बनारस पुगेर भण्डारीले आफूले अमेरिकामा हुने वर्ल्ड गीता म्याराथन, श्रीमद्भागवत, श्रीराम चरितमानस, गीता प्रवचन लगायत कार्यक्रममा नेपाल र भारतबाट १०८ जनालाई प्रवचन गर्न लैजान लागेको भन्दै करिब एक सय जना विद्यार्थीबाट जनही एक लाख रुपैयाँ उठाएर ठगी गरेका थिए।

उनले अमेरिका जान आयोजक संस्थाको सदस्यतासहित कुल खर्च ५ लाख ५० हजार लाग्ने र सुरुमा पेस्कीबापत एक लाख रुपैयाँ दिनुपर्ने सर्त राखेर करोड रुपैयाँभन्दा धेरै उठाएका थिए। उनले पेस्की लिएकालाई विश्वप्रसिद्ध धार्मिक र सामाजिक संस्था वर्ल्ड वेलफेयर भागवत ट्रस्ट, इन्टरनेसनल एजुकेसनल कन्फरेन्स, इन्टरनेसनल सोसाइटी फर कृष्ण कन्सिएसनेस (इस्कन) लगायत संस्थाहरू कार्यक्रमको आयोजक रहेको बताएका थिए।

जबकि त्यतिबेलै इस्कनको नेपालस्थित कार्यालयले अमेरिकामा त्यस्तो कार्यक्रम नरहेको र कथित महाराजसँग संस्थाको कुनै सम्बन्ध नरहेको भन्दै आधिकारिक प्रतिक्रिया दिएको थियो।

अमेरिकामा हुने धार्मिक कार्यक्रममा सहभागी गराउने भन्दै सयौं व्यक्तिसँग रकम उठाएपछि विवादमा तानिएका भण्डारी पीडितले खोजी गर्न थालेपछि सम्पर्कबाहिर रहँदै आएका थिए। केही पीडितलाई धम्क्याएर, केहीलाई प्रलोभनमा पारेर र केहीलाई आधा रकम दिएर उनले ठगी धन्दाको केही हिसाब मिलाएका थिए।

त्यतिबेला कान्तिपुरको सम्पर्कमा आएकामध्ये उनीबाट ठगिनेहरूमा कलेजका शिक्षक, ज्योतिष परिषद् नेपालका पदाधिकारी, होटल व्यवसायीदेखि योगगुरुसम्म थिए। सोही प्रकरणमा ठगिएका तीन पीडितले अमेरिका लैजाने भन्दै चार लाख ठगेको भनेर वैदेशिक रोजगार विभागमा उजुरी गरेपछि उनीसहित उनका तीनर सहयोगी अनुसन्धानमा तानिएका थिए।

बुटवल उपमहानगरपालिका बस्दै आएका रमेश खनाल, काठमाडौंका प्रकाश ढुंगाना र कीर्तिपुरका प्रमोदकृष्ण अधिकारीले उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा अभियोगपत्र दायर गरेका थिए।

धार्मिक आवरणमा ठगी धन्दा गर्दै आएका भण्डारीबारे नेपाल साप्ताहिकमा प्रकाशित भएलगत्तै २०६९ कात्तिकमा जिल्ला प्रहरी कार्यालय गुल्मीले दसैं मनाएर घरबाट फर्कने क्रममा उनलाई पक्राउ गरेको थियो।

उनीविरुद्ध महानगरीय प्रहरी अपराध महाशाखा र वैदेशिक रोजगार विभागमा छुट्टाछुट्टै उजुरी परेको थियो। पीडितलाई रकम नभएको चेक दिएर झुक्याएपछि बुटवल घर भएका गोकुल खनालले उनीविरुद्ध चेक बाउन्सको मुद्दा पनि दर्ता गराएका थिए।

२०७० माघ दोस्रो साता न्यायाधिकरणले तीन लाख धरौटीमा उनलाई छोड्न आदेश दिएको थियो। लगत्तै उनले सार्वजनिक वृत्तमा आफ्नो नाम बदलेर ‘स्वामी बालयोगेश्वर महाराज’ प्रयोग गर्न थालेका थिए।

न्यायाधिकरण कार्यालयले भण्डारीविरुद्धको आदेश कार्यान्वयन गर्नका निम्ति जिल्ला प्रहरी कार्यालय गुल्मीलाई पत्र पनि लेखेको थियो। जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी राजेन्द्र सिंह खड्काले न्यायाधिकरणको कार्यालयबाट पत्र आएका बेला महाराज भनिने भण्डारी रिडीमा रुरु महायज्ञ लगाइरहेका थिए।

एसपी खड्काले भने, ‘त्यतिबेला महायज्ञ बिथोलिएला भनेर हामीले तत्काल पक्राउ गरेनौं।’ उनका अनुसार पछि बुझ्दा न्यायाधिकरणको आदेशविरुद्ध भण्डारी सर्वोच्च अदालत गइसकेको र सर्वोच्चको तारेखबाट उनी छुटेका रहेछन् भन्ने बुझियो।

‘त्यतिबेला जिल्ला अदालतकै न्यायाधीशले पनि यसबारे बुझ्नुभएको थियो,’ उनले भने। त्यतिबेला भण्डारीबाट ठगिएका पीडितहरू अझै छन्। भण्डारीले अमेरिका लगिदिने भन्दै योग प्रशिक्षक चिन्तामणि गौतमसँग पनि ५० हजार उछिट्याएका थिए।

गौतमसहित नौ जनाले समूहगत रूपमा अमेरिका जाने भन्दै लिखित कागज गरेरै ‘महाराज’लाई नौ लाख रुपैयाँ बुझाएका थिए । कान्तिपुरसँगको कुराकानीमा गौतमले धर्मको आवरणमा आफूलाई ठगिएको र फसेको रकम उठाउन केही दौडधुप गरे पनि पैसा नपाएको बताए। उनका फुपूका छोरा महाधन पौडेलले पनि ५० हजार नै फसाएका थिए। उनले भने, ‘कति दौडधुप गर्ने भनेर माया मारेजस्तै भयो।’

ठगीको पुरानो परिचय बदल्नकै लागि उनले पछिल्ला वर्षमा आफूलाई स्वामी बालयोगेश्वर महाराज बताउँदै आएको देखिन्छ। कान्तिपुरसँगको टेलिफोन कुराकानीमा ‘महाराज’ले आफ्नो पुरानो नाम विष्णु प्रपन्नाचार्य नै भए पनि पछि आफूले दीक्षा पाएपछि नाम बदलेको तर्क गरे।

उनले भने, ‘श्रीमद्भागवत कथा वाचनमा लागेर दीक्षित भएपछि मेरो पद थपिएको हो।’ नामको अघि यस्तो पदवी कसले दियो र किन उनलाई नाम फेर्नुपर्‍यो भन्नेबारे भने उनले प्रस्ट बताएनन्। यो खबर आजको कान्तिपुरमा जनकराज सापकोटा, रमेशकुमार पौडेल र घनश्याम गौतम मिलेर लेखेका छन्।

पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव गोविन्द टन्डनले धर्मको आवरण भिरेर आफूले आफैंलाई पदवी दिने परम्परा शास्त्रसम्मत नरहेको बताए। यस्तो अभ्यासले असली साधु र सन्तका नाममा वितृष्णा फैलाउने काम भएको उनले बताए। ‘स्वार्थरहित कर्मभन्दा बाहिर गएर धर्मका नाममा अनेकन गर्नाले कालान्तरमा धर्म र संस्कृतिप्रति नै आम मानिसमा वितृष्णा फैलाउँछ,’ टन्डनले भने।