जाँदाजाँदै सत्ता फाल्ने भन्दै तर्साइन शिवमायाले - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

जाँदाजाँदै सत्ता फाल्ने भन्दै तर्साइन शिवमायाले



काठमाडौं- प्रतिनिधिसभा उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएसँगै मुलुकमा राजसंस्था फाल्न सके पनि पितृसत्ता फाल्न नसकेको बताएकी छन् ।

सोमबार प्रतिनिधिसभाको पहिलो बैठक आफैंले सञ्चालन गरी राजीनामा बुझाएकी उनले त्यसलगत्तै पत्रकार सम्मेलन गरी यस्तो बताएकी हुन् । हक्की, स्पष्ट र मन नपरेको कुरालाई प्रस्टसँग प्रस्तुत गर्ने तुम्बाहाङ्फेले आफूले महिला भएर पनि संवैधानिक अंगको नेतृत्व लिन सक्ने दाबी प्रस्तुत गरिरहेकी थिइन् ।

उनले विगतमा पनि उपसभामुखबाट सभामुख बनेको नजिरलाई नजरअन्दाज नगर्न पार्टी नेतृत्वलाई पटक–पटक बताउँदै आएकी थिइन् ।

उनले यही विषयलाई आधार बनाउँदै महिला नेतृत्व अस्वीकार गर्ने पुरुषप्रधान समाजका कारण आफू सभामुख हुनबाट वञ्चित हुनेपरेको बताइन् । उनी राजनीतिमा महिलाको सहभागिताको विषयमा विद्यावारिधि गर्ने महिलासमेत हुन् । उनले आफूले विगतदेखि नै महिला अधिकारको विषयमा आवाज उठाउँदै आएको विषयलाई पत्रकारमाझ राखिन् ।

महिला अधिकारका क्षेत्रमा दिएको योगदानबाटै तुम्बाहाङ्फे राजनीतिमा प्रवेश गरेकी हुन् । धेरैले अधिकार र पहिचानजस्ता संवेदनशील विषय कुर्सीसम्म पुग्ने हतियार बनाउँछन् । अनि, पदमा पुगेपछि विगत बिर्सिदिन्छन् । तर, उपसभामुखको कुर्सीमा पुग्दा पनि उनले त्यसलाई कायम राखिन् । उनले उपसभामुखबाट राजीनामा दिए पनि लक्ष्य नबिर्सेको बताइन् ।

‘उप’ भनेको ‘चुप’ होइन भनेर प्रदेशसभाका उपसभामुख तथा उपमेयर, उपाध्यक्षलाई पटक–पटक ऊर्जा थप्ने कामसमेत गरिरहिन् । प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछिको अन्योलग्रस्त अवस्थामा उनले प्रतिनिधिसभाको नेतृत्व लिइन् ।

उपसभामुखले सभामुखकै हैसियतमा काम गर्न मिल्ने वा नमिल्ने विषयमा विवाद भइरहँदा उनले निर्धक्कसँग निर्णय गरेर सभामुखमा आफ्नो दाबी स्वाभाविक रहेको संकेत गरिन् ।

नेकपामा महिला नेतृत्वलाई पछि पारिएको विषयले बेलाबेला प्रवेश पाउने गरेको छ । तर, यसका पक्षमा भिड्दा सम्भावित अवसर गुमाउने भयले महिला नेतृ मौन बस्छन् । शिवमायाले एक हिसाबले जोखिम मोलेकी हुन् । महिला भएकै कारण क्षमता भएर पनि अवसर नदिइने राजनीतिक संस्कारविरुद्ध उनी डटिन् ।

‘हामी सबै मिलेर राजतन्त्र त फाल्यौं तर राजनीतिमा रहेको पितृसत्तासँग सकिएन । राजतन्त्रभन्दा बलियो त पितृसत्ता पो रहेछ,’ उनले सोमबार भनिन्, ‘धेरैले सोधे, तपाईंको पछाडि को छ ? कोही थिएन । थियो त संविधान थियो । म पाँच वर्षका लागि चुनिएकी हुँ । संविधानले अझै तीन वर्ष साथ दिन्थ्यो । तर, नेकपाले उम्मेदवार छानेपछि मैले छाडिदिएँ ।’सविन शर्माले राजधानीमा लेखेका छन् ।

जाँदाजाँदै डा. तुम्बाहाङ्फेले भनिन्, ‘मैले दलको निर्देशन नमानेकै हो । उपसभामुख भइरहँदा म दलको कार्यकर्ता थिइनँ । आग्रह गरेको भए विचार गर्ने विषय हुन सक्थ्यो होला ।’ उनले संवैधानिक अंगको नेतृत्व गरिरहेको व्यक्तिलाई निर्देशन दिने अधिकार कुनै दलमा हुनुहुँदैन भन्ने मान्यता राखिन् ।

उनले आफ्नो कामको विषयमा छोटो तर मीठो तरिकाले प्रस्तुत गरिन् । उनले भनिन्, ‘म नेताको भनाइअनुसार होइन, संविधानअनुसार चलें ।’ उनले आफूलाई ‘लडाइँ’ शब्द प्यारो लागेको समेत बताइन् । उनले नेपाली राजनीतिमा रहेको पितृसत्तासँग आफू अन्तिम समयसम्म लडिरहने बताइन् ।

उपसभामुखको पदमा पाँच वर्ष काम गर्न पाउने अवसर गुमाएको भन्ने डा. तुम्बाहाङ्फेलाई लागेको छैन । बरु ५ वर्ष एउटै पदमा खेर नफालेकामा गर्व महसुस भएको छ उनलाई । सभामुखको रस्साकस्सीमा उनले केही नयाँ ज्ञान हासिल गरेको बताइन् । संसद्भित्रै लड्ने प्रतिबद्धता व्यक्त गरिन् ।

उपसभामुखबाट राजीनामा दिँदै डा. तुम्बाहाङ्फेले सभामुख पदमा उम्मेदवार नतोक्दासम्म राजीनामा दिने आफ्नो अडान कुनै आग्रह वा आकांक्षा राखेर नगरेको दाबी गरिन् । ‘देशले उपयुक्त निकास पाउनुपर्छ भनी मैले सबैको ध्यानाकर्षण गराउँदै आएकी छु,’ उनले सोमबारको पहिलो प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै भनिन्, ‘उपसभामुख पद खाली राखेर जान सक्दैन भन्ने मान्यताका आधारमा मैले दललाई उम्मेदवार तोक्न भनेकी थिएँ ।’

संसद्मा बहुमत प्राप्त दलले उम्मेदवार तय गरेको अवस्थामा आफूले मार्गप्रशस्त गर्ने निर्णय गर्दै पदत्याग गरेको उनले घोषणा गरिन् । ‘समावेशी लोकतन्त्र हाम्रो संविधानको आधारभूत मान्यता मात्र होइन, यसलाई अभ्यास र वचनबाट पनि लागू हुनुपर्छ,’ उनले भनिन्, ‘संविधान निर्माणमा अगुवाइ गर्ने राजनीतिक दल र नेतृत्व वर्ग यही विषयमा अडिग रहनुहुन्छ भन्ने मेरो विश्वास छ ।’

उपसभामुखका रूपमा रहँदा र सभामुख रिक्त रहँदा आफूले यसबारे धेरै प्रतिक्रिया पाएको भन्दै उनले समयले वस्तुनिष्ठ मूल्यांकन गर्ने बताइन् । ‘जनताले सूक्ष्म निगरानी गरिरहेका हुन्छन्,’ उनले भनिन्, ‘उचित सामाञ्जयस्यता हुनुपर्ने कुरा सबैले ध्यान पु¥याउनुपर्छ ।’ उनले कुनै पनि राजिनीतिक व्यक्तिले आफ्नो धरातल बिर्सन नुहने बताइन् । जनजाति तथा एकल महिलाले पाएको अवसरलाई आफूले महŒवपूर्ण अवसरका रूपमा उपयोग गरेको उनले सदनमै बताएकी थिइन् ।

सभामुख निर्वाचन १२ गते

काठमाडौं÷रास– प्रतिनिधिसभाको सभामुख चयनका लागि १२ माघमा निर्वाचन हुने भएको छ । प्रतिनिधिसभाको सोमबार बसेको दोस्रो बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख निर्वाचन मिति तोकेका हुन् ।

प्रतिनिधिसभाको पहिलो बैठकलगत्तै उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएकी थिइन् । संविधानले एउटै दलबाट सभामुख र उपसभामुख बन्न नमिल्ने व्यवस्था गरेको छ । नेकपाले सभामुख पदमा दाबी गरेपछि सोही दलबाट उपसभामुख बनेकी तुम्बाहाङ्फेले राजीनामा दिएकी हुन् । नेकपाले आइतबार नै अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

नेकपाबाट यसअघि सभामुख बनेका कृष्णबहादुर महराले गत १४ असोजमा राजीनामा दिएपछि प्रतिनिधिसभा सभामुखविहीन थियो । सभामुख नभएको अवस्थामा उपसभामुख डा. तुम्बाहाङ्फेले नेतृत्व सम्हालिरहेकी थिइन् । महिलामाथिको दुव्र्यवहार मुद्दा लागेपछि तत्कालीन सभामुख महराले पदबाट राजीनामा दिएका थिए । प्रतिनिधिसभामा नेकपाको बहुमत रहेकाले सापकोटा निर्वाचित हुने लगभग निश्चित छ । यद्यपि, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पुष्पा भुसाललाई सभामुखको उम्मेद्वार बनाउने तयारी गरिरहेको छ ।

सभामुख निर्वाचनको कार्यतालिकासमेत सोमबारै प्रकाशित भएको छ । मंगलबारका लागि सभामुखको मनोनयन दर्ता गर्ने कार्यतालिका छ, जसमा प्रतिनिधिसभाको कुनै सदस्यले प्रतिनिधिसभाको कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गर्नुपर्ने हुन्छ । नेकपाले सभामुख उम्मेदवार चयन गरिसकेकाले सापकोटालाई सभामुख बनाउन मंगलबार मनोनयन दर्ता हुनेछ । सोमबार बिहान ११ बजेदेखि २ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी गराए । मंगलबार नै दर्ता भएका उम्मेदवारीको सूचना दर्ता क्रमअनुसार सूची प्रकाशन हुनेछ ।

यसैगरी, १२ माघमा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ७ बमोजिम प्रतिनिधिसभाको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावक सदस्यले प्रस्ताव पेस गर्नेछन् । त्यसमा समर्थक सदस्यले समर्थन गर्ने कार्यतालिका छ । उम्मेदवारीको सूचनामाथि सामूहिक रूपमा छलफल हुने र दर्ता क्रमानुसार उम्मेदवारीको प्रस्तावलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसपछि प्रतिनिधिसभाले नयाँ सभामुख पाउनेछ ।