शाही भूमिका छाड्ने राजकुमार ह्यारी र मेगनको घोषणा: काम खोज्दै - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

शाही भूमिका छाड्ने राजकुमार ह्यारी र मेगनको घोषणा: काम खोज्दै



एजेन्सी- ब्रिटेनका राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्कलले शाही भुमिकाबाट आफूलाई अलग राख्ने घोषणा गरेका छन्।

घोषणामा ह्यारी र मेगनले आर्थिक रुपमा आत्मनिर्भर बन्न काम गर्ने घोषणा पनि गरेका छन्।

बुधबार भएको घोषणामा उनीहरूले आफ्नो अबको बसाइ ब्रिटेन र उत्तरी अमेरिकामा हुने पनि बताए।

बिबिसीका अनुसार राजकुमार ह्यारी र मेगानले यस निर्णय लिनुपूर्व बेलायती महारानी वा राजकुमार विलियमसँग कुनै सल्लाह नगरेको र उनीहरुको यस निर्णयबाट बकिङहम दरबार निराश भएको जनाएको छ।

बेलायती शाही परिवारका वरिष्ठ सदस्यहरू यस निर्णयबाट निराश भएको बिबिसीले आफ्नो समाचारमा उल्लेख गरेको छ।

बुधबार अनपेक्षित रुपमा जारी भएको वक्तव्यमा राजकुमार ह्यारी र मेगनले महिनौंको आन्तरिक छलफल पछि निर्णय लिएको उल्लेख गरेका छन्।

‘हामी शाही परिवारको उच्च भूमिकाबाट पछाडि हट्न चाहन्छौं र आर्थिकरुपमा आत्मनिर्भर हुन काम गर्नेछौं, यसक्रममा महारानीलाई हाम्रो पूर्ण समर्थन जारी रहनेछ’, जारी वक्त्व्यमा भनिएको छ।

बेलायत र उत्तरी अमेरिकाबीचमा सन्तुलित समय छुट्याउने योजनामा रहेको उनीहरूले जनाएका छन्। यसक्रममा उनीहरूले महारानी, कमनवेल्थ र हाम्रा संरक्षकप्रतिको कर्तव्य जारी राख्नेछन्।

‘यो भौगोलिक सन्तुलनले हाम्रो छोरालाई शाही परम्पराप्रति कृतज्ञ हुँदै हुर्किन सक्षम बनाउने छ। योसँगै यसले हाम्रो परिवारलाई अर्को अध्यायमा ध्यान केन्द्रित गर्ने ठाउँ दिनेछ जसमा हाम्रो नयाँ परोपकारी संस्थाको सुरूवात पनि पर्छ।’