नयाँ वर्षकै दिन पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

नयाँ वर्षकै दिन पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो



नयाँ वर्षकै दिन पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। भारतबाट केही मूल्य बढेर आएकाले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

जसअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ।

हवाई ईन्धन र एलपी ग्यासको खुद्रा विक्री मूल्य हालकै यथावत राखिएको छ। अब काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १११ रुपैयाँ कायम भएको छ।

त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय रुपैयाँ कायम गरिएको छ।

यो मूल्य समायोजन गरे पश्चात् नेपाल तर्फको विरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा विक्री मूल्य १८ रुपैयाँ ६७ पैसा प्रति लिटरले सस्तो र डिजेलको खुद्रा विक्री मूल्य १८ रुपैयाँ २७ पैसा प्रति लिटरले नेपालतर्फ सस्तो हुन गएको निगमले जनाएको छ।

बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।

उपरोक्त समायोजन पश्चात् काठमाडौंसहित सुर्खेत र दिपायलमा १११ रुपैयाँ प्रति लिटर पर्नेछ। पोखरा र दाङमा ११० रुपैयाँ ५० पैसा प्रतिलिटर र अन्य तराई क्षेत्र (चारआली, विराटनगर, धनुषा, विरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी)मा प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा पर्नेछ।

त्यस्तै डिजेल/मट्टितेलको खुद्रा विक्री मूल्य काठमाडौंसहित सुर्खेत र दिपायलमा १०० रुपैयाँप्रति लिटर, पोखरा र दाङमा ९९ रुपैयाँ ५० पैसा प्रति लिटर र अन्य तराई क्षेत्र (चारआली, विराटनगर, धनुषा, विरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी)मा ९८ रुपैयाँ ५० पैसा प्रतिलिटर कायम भएको छ।